नयाँपत्रिका

काठमाडौं, १९ पुस । सिन्धुपाल्चोक भोटसिपाकी सन्तमाया तामाङलाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । इन्द्रावती गाउँपालिका–९ मा पर्ने यस दुर्गम गाउँस्थित सन्तमायाको घरमा गाडीसमेत पुग्दैन । त्यसैले, उनलाई उपचारका लागि काठमाडौं ल्याउन समस्या थियो । तत्काल अस्पताल ल्याउने खर्च उनको परिवारसँग थिएन ।

Advertisement

तर, सन्तानलाई जन्म दिन नसकेर छटपटाइरहेकी तामाङलाई सामाजिक अभियन्ता दीपक सिलवालले उद्धार गरेका छन् । दीपकले एकल प्रयासमा सन्तमायालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको नेपाल मेडिकल कलेज ल्याए । मंगलबार मध्याह्न १२ बजे भर्ना गरिएकी सन्तमायाले छोरोलाई जन्म दिएकी छिन् ।

यसअघि, २०७२ सालमा आएको प्रलयकारी महाभूकम्पमा सन्तमायाका ८ वर्षीय छोराको मृत्यु भएको थियो । ६ वर्षीया छोरी र श्रीमान्सहित सन्तमायाको ३ सदस्यीय परिवार नयाँ शिशुको आगमनपछि पनि खुसी हुन सकेको छैन । आमाको स्वास्थ्यअवस्था सामान्य भए पनि बच्चाको अवस्था चिन्ताजनक छ । शल्यक्रियामार्फत निकालिएको बच्चाको उपचार आइसियु कक्षमा भइरहेको उद्धारकर्ता दीपकले बताए । उनले बच्चाको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

समाजसेवामै सक्रिय
घर–आँगन नेपाल नामक गैरसरकारी संस्थाका संस्थापक दीपकले ४ वर्षसम्म अनाथ, अपांगता भएका व्यक्तिको संरक्षण गरे । हाल उनले बिरामीको उद्धार तथा उपचारको व्यवस्था मिलाउने काम गर्दै आएका छन् । स्थानीयले खबर गरेपछि हेलिकोप्टर लिएर उद्धारका लागि गएको दीपकले बताए । ‘उद्धार नगरे ज्यान जान सक्ने अवस्था भएको भन्दै मसँग चिनजान भएका स्थानीयले खबर गरे । उनीहरूले सोमबार नै खबर गरे पनि मैले हेलिकोप्टरबाट उद्धार गर्न लाग्ने खर्च जम्मा गर्न सकिन,’ उनले भने, ‘मंगलबार भने केही दिनपछि ८० हजार भाडा तिर्ने सर्तमा हेलिकोप्टर लगेर उहाँको उद्धार गरेँ । सोमबारदेखि गर्भवती सन्तमायाको अत्यधिक पानी बगिरहेको थियो । मंगलबारसमेत उनको उद्धार नगरेको भए ज्यानै जाने स्थिति थियो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!