बागलुङ, १८ पुस ।   बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् ।  पन्ध्र वर्षअघि व्यावसायिक कृषि थालेका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहेका छन् । रु १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उनले अहिले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्छन् । ६ वटा पोखरीमा माछापालन गरेका उनले वार्षिक रु आठ लाखसम्म आम्दानी हुने गरेको बताए ।

Advertisement

शर्माले आफ्नै चार रोपनी जग्गामा माछापालन गरेका छन् । पोखरीमा ग्रास, कमनलगायत विभिन्न जातका सात हजार माछा छन् । पोखरीको आलो माछा प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको शर्माले बताए ।

उनले फार्ममा तीन हजार ब्रोइलर र दुई हजार कोइलर जातका कुखुरा पाल्नु भएको छ । कुखुरासँगै हाँसपालन गरेका शर्माले जिल्ला कृषि र पशुसेवा कार्यालयबाट अनुदानसमेत पाएका छन् ।

माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट रु ६० हजार र कुखुरापालनका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु ५० हजार अनुदान पाएको शर्माले बताए । शर्माले गरेको उद्यमशीलता अन्य किसानका लागि प्रेरणादायी बनेको छ ।

विसं २०४७ मा शिक्षण पेशा त्यागेर कृषि रोज्नुभएका शर्मा यसमै सफल भएका छन् । फार्ममा केहीलाई रोजगारीसमेत दिएका उनी कृषिलाई अझै व्यावसायिक बनाउने सोचमा रहेका छन् ।

“उत्पादन गर्न सके बजारको कुनै समस्या छैन, कृषि कर्मबाट म पूर्ण सन्तुष्ट छु”, शर्माले भने । काठेखोला छेउँमा रहेको सो फार्मबाट उत्पादित कृषि उपज बागलुङ सदरमुकाममै खपत हुने गरेको छ । अन्त गएर गर्ने परिश्रम कृषिमा लगाउन सके मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!