यात्रा गर्दा हामी स्थलमार्ग, जलमार्ग र वायुमार्गमध्ये कुनै एक मार्गको प्रयोग गर्छौं । धेरैजसो मानिसलाई लामो दूरीको यात्रा गर्दा समस्या देखा पर्छ । यात्राका क्रममा डर लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, निद्रा नलाग्ने, रिँगटा लाग्ने, पेट बटारिने, खुट्टा सुन्निने, वाकवाकी लाग्ने, बान्ता हुने आदि हुन्छ ।

Advertisement

सबैभन्दा गम्भीर समस्या भनेको कार, बस, ट्रेन, पानीजहाज, हवाईजहाजको यात्रामा बारम्बार बान्ता हुनु नै हो । कतिपय यात्रु यात्रा गर्दा आइपर्ने समस्याकै डरले यात्रा गर्नु पहिला चिकित्सकसँग सल्लाह लिन जाने गर्छन् । कतिपयले यसको डरले यात्रा नै नगर्न पाए हुन्थ्यो भन्ने सोच्छन् । लामो दूरीको यात्रामा हुने वाकवाकी, बान्ता आउनु, निद्रा नलाग्नु, पेट बटारिनु, जीउ दुख्नु आदि समस्यालाई अंग्रेजीमा मोसन सिकनेस या ट्राभल सिकनेस भनिन्छ ।

 ट्राभल सिकनेसको प्रकार
कार सिकनेस : बस, कार, रेलजस्ता सवारीसाधनमा यात्रा गर्दा लाग्ने चक्कर, वाकवाकी, टाउको दुखाइ आदिबाट उत्पन्न हुने शारीरिक समस्यालाई कार सिकनेस भनिन्छ ।

सी–सिकनेस अर्थात् सामुद्रिक यात्रा : यसमा पानीजहाज, डुंगा, नाउ आदिबाट जलयात्रा र सामुद्रिक यात्रा गरिँदा हुने असजिलोपन, वाकवाकी, बान्ता हुनु आदि समस्यालाई सी–सिकनेस भनिन्छ ।

एअर सिकनेस : हवाईजहाज, हेलिकोप्टरद्वारा यात्रा गर्दा हुने अप्ठ्यारोपनलाई एअर सिकनेस भनिन्छ ।
जल, थल र वायु जुनसुकै मार्गद्वारा यात्रा गर्दा हुने शारीरिक एवं मानसिक स्वास्थ्य समस्यालाई संयुक्त रूपमा ट्राभल सिकनेस भनिन्छ । यात्रा गर्ने सबै व्यक्तिलाई ट्राभल सिकनेस हुन्छ भन्ने छैन । तर, कतिपय व्यक्ति छोटो दूरीको यात्रामा पनि ट्राभल सिकनेसबाट प्रभावित हुन्छन् ।

कारण
हाम्रो शरीरलाई सन्तुलनमा राख्ने रिमोट कानको भित्री भागमा हुन्छ । सवारीसाधनको गति र आवाजको प्रभावले गर्दा कानको भित्री भागमा रहेको तरल पदार्थ हल्लिन्छ । यसले गर्दा कसैकसैलाई रिँगटा लाग्छ, त्यसपछि टाउको घुमाउने, कान दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने आदि ट्राभल सिकनेसका लक्षण देखा पर्न थाल्छन् । यसबाहेक गाडीभित्र भीडभाड हुँदा हावाको कमी (गुम्म) हुँदा, चुरोटको धुवाँ, सडकको धुलो, गाडीको धुवाँ, विपरीत दिशाबाट आउने जाने गाडीको चर्को हर्न (आवाज) आदिले पनि धेरैलाई वाकवाकी हुन्छ ।

कतिपय व्यक्ति मदिरा सेवन गरेर, सुर्ती (खैनी)को सेवन गरेर यात्रा गरिरहेका हुन्छन् । यसले गाडीभित्रको वातावरण दुर्गन्धित हुन्छ । यसले गर्दा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने हुन्छ । गाडी सोझो बाटोमा गुड्दा यात्रुलाई त्यति अप्ठ्यारो हुँदैन । तर, घुमाउरो र ओरालो बाटोमा गुड्दा समस्या बढी हुन्छ । घुमाउरो र उकालो–ओरालो बाटो पनि ट्राभल सिकनेसको कारण हो ।

 लक्षण
वाकवाकी लाग्नु, मुखमा पानी आउनु, चक्कर लाग्नु, टाउको दुख्नु, कान दुख्नु, छटपटी हुनु ।
के गर्ने
– मास्क प्रयोग गर्ने ।
– अगाडिको सिटमा बस्ने ।
– टाढाको दृश्य हेर्ने ।
– यात्रामा खाना खाने ।
– खाली पेटमा यात्रा गर्दा पेटका मांसपेसी बढी तन्किने, खुम्चिने गर्छन् । यसले झन् समस्या हुन्छ ।
– सकेसम्म हल्का भोजन गर्ने ।
– चिल्लो कम भएको दाल, भात, तरकारी खाने ।
– दुग्धजन्य पदार्थ, अमिलो र गुलियो नखानु बेस हुन्छ ।
कसैले बान्ता रोक्न अमिलो पदार्थ खाने गर्छन् तर अमिलो पदार्थको सेवनले कसैको बान्ता रोकिए पनि सबैमा यो लागू हँुदैन । समस्यामा कमी नआएमा बान्ता रोक्ने औषधि प्रयोग गर्नुपर्छ ।

 घरेलु उपाय
अदुवा : यात्रामा बान्ता हुने गर्छ भने यात्रा गर्नुपूर्व अदुवाको चिया खाएर निस्कनुपर्छ । यात्रामा बान्ता आउलाजस्तो महसुस भएमा अदुवाको सानो टुक्रा मुखमा राखेर चपाउनु उपयोगी हुन्छ ।

 ल्वाङ : यात्रा गर्दा वाकवाकी लाग्यो भने ल्वाङ मुखमा राखेर चुस्नुपर्छ । यसले वाकवाकी र बान्ता हुँदैन ।

 अलैंची : बान्ता आउलाजस्तो भयो भने तुरुन्त दुईवटा अलैंची खानाले आराम मिल्नुका साथै पेटको एसिडिटी पनि कम गर्छ ।
धनियाँ : धनियाँको केही दाना मुखमा राखेर चपाउनाले वाकवाकी लाग्दैन ।

होमियोप्याथिक औषधि
यात्रामा लाग्ने वाकवाकी वा बान्ता रोक्न केही होमियोप्याथिक औषधि उपयोगी छन् ।
जस्तै :
कोकुल्स इन्डिका २००/शक्ति, ब्रायोनिया एल्बा ३०/शक्ति, इपिकाक ३०/शक्ति , कार्बोभेज ३०/शक्ति, बेलाडोना ३०/शक्ति, आदि औषधि उपयोगी हुन्छन् । तर, प्रत्येक औषधि मानिसको मानसिक एवं शारीरिक अवस्थाअनुसार भिन्नाभिन्नै दिनु उपयुक्त हुन्छ । यी औषधिको प्रयोग होमियोप्याथिक चिकित्सकसँग सल्लाह गरेरमात्रै सेवन गर्नुपर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!