- संगालोखबर सम्वाददाता

धनकुटा, ६ पुस । ओझेलमा परेको पाख्रीबास–२ स्थित तीनथुने गुफाको चर्चा क्रमश चुलिदै गएको छ । विगतमा स्थानीयस्तरमा मात्र सिमित रहेको गुफा क्रमश पछिल्लो समय अन्यत्र पनि चर्चित बन्दै गएपछि स्थानीयबासी उत्साहित बनेका छन् ।

पहाडको माथिल्लो भागमा रहेको पौराणिक महत्व बोकेको गुफाबारे पर्यटकीय दृष्टिले महत्व राख्ने भएकोले माघे संक्रान्तिमा मेला लगाउने तयारी गरिएको स्थानीयबासी दिलबहादुर तामाङले संगालोखबरलाई बताएका छन् ।

Advertisement

गाईको तीन थुन जस्तो आकृति रहेकाले तीन थुने गुफा नामाकरण भएको उनको भनाई छ । गुफा भित्रको चट्टानबाट नियमित रुपमा तातोपानी आउने गरेको छ भने नाग तथा वुद्धको जस्तो आकृति रहेको पूजारीसमेत रहेका तामाङले जानकारी दिए । गुफा भित्रबाटै खोला रहेको छ भने खोलामा ढुङ्गाको पुल लगाएको छ ।

गुफा करिब ३० मिटर लम्बाई र ४ मीटर चौडाईमा फैलिएको छ । तर, भित्रि भागमा रहेको आकृति नियाल्न सकिने स्थानमा एक जनाको दरले मात्र आलोपालो जान सकिन्छ ।

धनकुटाको पाख्रीबास २ स्थित तीनथुने गुफा । तस्वीर: संगालोखबर

पुजारी तामाङले संगालोकर्मीसँग भने, ‘गुफामा पूजा गरेको सपना देखेकोले पूजाआजा गर्दै आएको छु ।’ प्रत्येक मंगलबार गुफामा विशेष पूजा गर्दै आएको उनले बताए । स्थानीय वयोवृद्ध कृष्णबहादुर वम्जन तामाङले आफुले बाल्यकालदेखि नै गुफा देखेको बताए ।

उनले गुफा भित्र रहेको गाईको चार थुन देखिने चटानबाट दुध जस्तो पदार्थ आउने गरेको र स्थानीय ओख्रेली तामाङहरुले खिर पकाएर खाने गरेको किम्बदन्ती सुनाए ।

यसैगरी स्थानीय जंगबहादुर तामाङका अनुसार साविक सान्ने–८ का एक ग्याम्जन वम्जन थरको तामाङ झाक्री तीनथुने गुफाबाट छिरेर साविकको भिरगाउ‘–३ किन्ताङ्गमा रहेको मधुगंगा गुफामा निस्किएको किम्बदन्ती सुनाए ।

पर्यटकीय स्थल पाख्रीबास बजारबाट करिब ७ किलो मिटर दुरीमा रहेको तिनथुने गुफाबारे स्थानीयले प्रचारात्मक अभियान थालेको स्थानीय गजेन्द्र तामाङले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!