एजेन्सी, १ पुस । इन्द्रेणी हेर्न मन नपराउने को होला? प्रायःजसो यो क्षणिक हुन्छ, धीत मर्न नपाइ हराइहाल्छ। तर चाइनिज कल्चर युनिभर्सिटी ताइपेइका प्राध्यापक र विद्यार्थीले भने गत साता ९ घण्टाका लागि इन्द्रेणी हेर्ने मौका पाएका छन्।

‘यो अद्भूत थियो, हामीले आकाशबाट उपहार पाएजस्तो महसुस गर्‍यौँ,’ विश्वविद्यालयका प्राध्यापक चोउ कुन सुआन भन्छन्।

सो इन्द्रेणी ३० नोभेम्बर बिहान ६ः५७ देखि अपरान्ह ३ः५५ सम्म ८ घण्टा ५८ मिनेट देखिएको थियो। यसको पुष्टि भए सबैभन्दा लामो समय लागेको इन्द्रेणीको गिनिज रेकर्ड यसले तोड्नेछ। यसअघि १४ मार्च १९९४ मा बेलायतको योर्कसायरमा लागेको इन्द्रेणीको नाममा सबैभन्दा लामो इन्द्रेणीको गिनिज रेकर्ड कायम छ। त्यो इन्द्रेणी ६ घण्टा लागेको थियो।

सो विश्वविद्यालयको वायुमण्डलीय विज्ञान विभाग अहिले गिनिज रेकर्डका लागि प्रमाण जुटाइरहेको छ।

इन्द्रेणी लागेको अवधिमा विभागमा रहेका व्यक्तिले मात्रै १० हजार भन्दा बढी फोटो लिएका थिए।

‘यो इन्द्रेणी नौ घण्टा लागेको थियो भनेर हामी सेकेण्डको हिसाबले गिनिजमा प्रमाणित गर्न सक्छौँ,’ प्राध्यापक चोउ भन्छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!