झापा, २५ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ। पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा गठबन्धन विजयी बनेका हुन्।

Advertisement

झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा राम कार्की विजयी भएका हुन्। नेकपा (माओवादी कोन्द्र)का स्थायी कमिटी सदस्य कार्कीले ३६ हजार १७३ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी विश्वप्रकाश शर्मासँग उनी दुई हजार ८७३ मतान्तरमा विजयी बनेका हुन्। शर्माले ३३ हजार ३१० मत प्राप्त गरे।

झापा क्षेत्र नं २ मा वाम गठबन्धनकी उम्मेदवार पवित्रा निरौला खरेल विजयी बने। नेकाका उम्मेदवार उद्वव थापालाई १३ हजार ७६७ मतले पछि पार्दै उनी विजयी बनेका हुन्। खरेलले ४५ हजार ८१७ मत प्राप्त गरे भने थापाले ३२ हजार ५० मत प्राप्त गरे।

झापा क्षेत्र नं ३ मा वाम–राप्रपा गठबन्धनका तर्फबाट राप्रपाका राजेन्द्र लिङ्देन विजयी बनेका छन्। लिङ्देनले नेपाली कांग्रेसका सिटौलालाई १३ हजार १५६ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन्। लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गर्नुभएको छ भने सिटौलाले ३१ हजार १७१ मत प्राप्त गरे।

झापा क्षेत्र नं ४ मा वाम गठबन्धनका उम्मेदवार लालप्रसाद साँवा (एलपी) विजयी बनेका छन्। १६ हजार ६९३ मतान्तरमा नेकाका उम्मेदवार देउकुमार थेवेलाई पराजित गर्दै उनी विजयी बनेका हुन्। साँवाले ४३ हजार ५१५ मत प्राप्त गरे भने थेवेले २६ हजार ८२२ मत प्राप्त गरे।

झापा क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार केपी शर्मा ओली विजयी बने। ओलीले २८ हजार ८४२ मतको अन्तरले नेका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरे। एमाले अध्यक्षसमेत रहनुभएका ओलीले ५७ हजार १३९ मत प्राप्त गरे भने नेकाका उम्मेदवार डा खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरे।

प्रदेशसभातर्फ झापा क्षेत्र नं १ को (क)मा एमालेका श्रीप्रसाद मैनाली विजयी बने। उनले नेका उम्मेदवार केशवराज पाण्डेलाई पाँच हजार ७३२ मत अन्तरले जीत हासिल गरे।

मैनालीले २२ हजार ९७२ मत प्राप्त गर्नुभयो भने पाण्डेले १७ हजार २४० मत प्राप्त गरे।

क्षेत्र नं १ कै (ख)मा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी बनेका हुन्। उनले नेकाका उम्मेदवार अशोककुमार पोखरेललाई सात हजार ८६१ मत अन्तरले जीत हासिल गरे। बुढाथोकीले १७ हजार ८३९ मत प्राप्त गरे भने पोखरेलले नौ हजार ९७८ मत प्राप्त गरे।

क्षेत्र नं २ को (क)मा नेकपा (एमाले)का एकराज कार्की विजयी बनेका छन्। कार्कीले नेकाका उम्मेदवार लक्ष्मण खड्कालाई पराजीत गर्दैै विजयी बने।

कार्कीले २१ हजार २८४ मत प्राप्त गरे भने खड्काले १२ हजार ७९२ मत प्राप्त गरे। उनीहरुबीचको मतान्तर आठ हजार ५६२ रहेको छ।

क्षेत्र नं २ को (ख)मा एमालेका बृख प्रधान विजयी बनेका हुन्। उनले नेकाका उम्मेदवार खड्ग प्रसाईंलाई सात हजार ९१ मतले पछि पार्दै विजयी बने। प्रधानले २५ हजार ४२१ मत प्राप्त गरे भने प्रसाईंले १८ हजार ३३० मत प्राप्त गरे।

झापा क्षेत्र नं ३ को ९क०मा एमालेका वसन्त बानियाँ निर्वाचित भए। नेकाका उम्मेदवार भूमिप्रसाद राजवंशीलाई पछि पार्दै उनी विजयी बने।

बानियाँले २२ हजार ५५३ मत प्राप्त गरे भने राजवंशीले १७ हजार पाँच मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर पाँच हजार ५४८ मत रहेको छ।

क्षेत्र नं ३ कै (ख)मा माओवादी केन्द्रका पूर्णसिंह राजवंशी निर्वाचित भए। उनले नेकाका उम्मेदवार भगीरथ पोद्दारलाई पछि पार्दै निर्वाचित भए। राजवंशीले २२ हजार ६५ मत प्राप्त गरे भने पोद्दारले १४ हजार ७५३ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर सात हजार ३३० रहेको छ।

क्षेत्र नं ४ को (क) मा नेकपा (माओवादी केन्द्र)का झलकसिंह दर्लामीले नेकाका उम्मेदवार किरण भट्टराईलाई चार हजार ७७५ मतान्तरले विजयी भए।

दर्लामीले १७ हजार २५६ मत प्राप्त गरेका छन् भने भट्टराईले १२ हजार ४८१ मत प्राप्त गरे। क्षेत्र नं ४ को (ख)मा एमालेका हिरा थापा निर्वाचित भए। थापाले २४ हजार ९०१ मत प्राप्त गर्नुभयो भने नेकाका उम्मेदवार उत्तम सुवेदीले १४ हजार ९६५ मत प्राप्त गरेका छन्। थापा र सुवेदीबीचको मतान्तर नौ हजार ९३६ रहेको छ।

झापा क्षेत्र नं ५ को (क) मा नेकपा (एमाले)का हिक्मत कार्की निर्वाचित भएका छन्। उनले २४ हजार ९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार अनिलकृष्ण प्रसाईंले १८ हजार ६३६ मत प्राप्त गरे।

उनीहरुबीचको मतान्तर पाँच हजार ४६२ रहेको छ। क्षेत्र नं ५ को (ख)मा नेकपा (एमाले)का अर्जुन राई निर्वाचित भए। उनले ३० हजार ९७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार राजनबहादुर ढुंगानाले १० हजार ९९३ मत प्राप्त गरे। उनीहरुबीचको मतान्तर १९ हजार ९८३ रहेको छ।

झापामा पाँच लाख ८५ हजार १६६ मतदाता रहे पनि चार लाख १४ हजार ९०१ मत खसेको थियो। प्रतिनिधि तथा प्रदेशसभा गरी १४१ जना उम्मेदवार चुनावी मैदानीमा उत्रिएका थिए।

झापा क्षेत्र नं १ मा ७५ हजार ९७० मत खसेको थियो भने सदर मत ७३ हजार ३०३ मत र बदर मत सङ्ख्या दुई हजार ६७६ रहेको छ।

क्षेत्र नं २ मा ८५ हजार ८१६ मत खसेको छ। क्षेत्र नं ३ मा ८२ हजार ९२४ मत खसेको छ भने क्षेत्र नं ४ मा ७७ हजार ३२५ मत खसेको छ। क्षेत्र नं ५ मा ९३ हजार ४८ मत खसेको बताइएको छ। रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!