बाँके, १६ मंसिर । केही वर्षअघिसम्म पतिसँग ५ रुपैयाँ मागेर सहकारीमा बचत गर्ने राप्ती–सोनारी गाउँपालिका–७, फत्तेपुरका महिला अहिले वार्षिक एक लाखदेखि डेढ लाख रुपैयाँ कमाउन थालेका छन्।
व्यवासायिक र व्यववस्थित रूपमा बाख्रापालन गर्न थालेपछि उक्त वडाका महिलालाई घर व्यवहार, बचत र दैनिक खर्चका लागि परिवारसँग हात थाप्नुपर्ने बाध्यता हटेको छ।
६ वर्षअघि स्थानीय एक सय १२ महिला संगठित भएर सहकारी संस्था स्थापना गरेपछि यहाँका गृहिणीको आर्थिक अवस्थामा सुधार आएको हो। आफैले स्थापना गरेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ३० हजार ऋण लिएर ४ वटा बाख्रा खरिद गरेर व्यवसाय सञ्चालन गरेर वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्न थालेको राप्ती–सोनारी गाउँपालिका–७, लालपुरकी कौशिला बुढा क्षेत्रीले बताइन्।
उनले एक वर्षको अवधिमा १५–२० हजार रुपैयाँका दरले १० वटा खसी विक्री गरेको बताइन्। उनले बाख्रा पालन व्यवसाय सुरु गरेपछि घर खर्च र मासिक बचत र आफूलाई चाहिने श्रृंगारका सामान किन्न पतिसँग रकम माग्न नपरेको बताइन्।
‘समूहमा मासिक बचतका लागि समेत पतिको मुख ताक्नु पथ्र्यो,’ उनले भनिन्। राप्ती–सोनारी गाउँपालिका–७, शान्तिपुरकी विमला शाहीले पनि घर खर्च र मासिक बचतका लागि आफैले आम्दानी गर्न सक्ने भएकी छन्।
तेल, नुन किन्नका लागि पतिसँग पैसा माग्नु पर्ने दिन गएको उनले बताइन्। उनले घर ब्यवहार र आफ्नो लागि आफै कमाउन सक्ने भएपछि घर व्यवहार चलाउन सजिलो भएको बताइन्।
‘एक पत्ता टिका किन्नसमेत पतिको मुख ताक्नु पर्ने बाध्यता थियो, बाख्रा बिक्री गरेर आम्दानी गर्न थालेपछि कपडाका लागि समेत कसैको मुख ताक्नु पर्दैन,’ शाहीले भनिन्। बाख्रा पालेरवार्षिक एक लाखभन्दाब९ी रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाइन्।
विदेशिने पुरुषलाई घरमै रोजगारी कामको खोजीमा भारत जाने पुरुषको संख्या पनि घटेको छ। बाख्रापालन व्यवसायबाट आम्दानी बढेपछि श्रीमानले समेत घरमै रोजगारी पाएको कौशिलाले बताइन्।
उनका श्रीमान् कामका लागि भारत जाने गरेका थिए। सहकारीमार्फत बाख्रापालन गर्न थालेपछि श्रीमानले पनि घरमै काम पाउनुभएको छ, बाख्रा पालन व्यवसायले भारत जाने बाध्यता हटेको छ,’ उनले भनिन्।
महिलाले सहकारी मार्फत ऋण लिएर बाख्रापालन रेपछि बेरोजगार पुरुषले रोजगारी पाएको सोही ठाउँकी लक्ष्मी कुर्मीले बताइन्। उनले कामका लागि विदेश जाने क्रम केही कम भएको जानकारी दिइन्।
‘कामको खोजीमा भारत जानेहरू अहिले घरमै बसेर पत्नीको व्यवसायमा सघाइरहेका छन्,’ लक्ष्मीले भनिन्। पाँच सय महिला बाख्रापालनमा ६ वर्षअघि स्थानीय महिलाले स्थापना गरेको सहकारीमा अहिले सात सय ५० जना शेयर सदस्य छन्।
यसमध्ये पाँच सय जना बाख्रा पालन व्यवसायमा संलग्न छन्। सहकारीमा आवद्ध ५० जना महिलाले भैँसीपालन र २५ जनाले लोकल कुखुरापालन गरेको सहकारी संस्थाका अध्यक्ष सुनिता खाँन ठकुरीले जानकारी दिइन्।
उनका अनुसार, परनिर्भर महिलाहरु सहकारीमा आबद्ध भएपछि आयआर्जनका लागि विभिन्न किसिमका व्यवसाय सञ्चालन गरेर जिविकोपार्जनमा सुधार ल्याउन सफल भएका छन्।
‘महिलाको सक्रियतामा छरिएर रहेको पुञ्जी संकलन गरेर घर र समाज सुधारमा लगाउन सफल भएका छौँ,’ उनले भनिन्। उनले महिलाको सक्रियतामा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७३\७४ मा ३ लाख ८७ हजार ६ सय ६५ रुपैयाँ नाफा गरेको जानकारी दिइन्।
उनले यो आर्थिक वर्षमा ३ सय शेयर सदस्य थप गर्ने लक्ष्य रहेको बताइन्। सहकारीको आफ्नै भवन निर्माण महिलाको लगानी र नेतृत्वमा सञ्चालित परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाको आफ्नै भवन छ। दु
ई कोठे पक्की भवनबाट नै सहकारी सञ्चालनमा आएको छ। भाडाको घरमा बस्दै आएको सहकारीले भरखरैदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ।
१२ लाख ९ हजार ३ सय रुपैयाँमा निर्माण भएको अध्यक्ष खाँन ठकुरीले बताइन्। उनका अनुसार भवन निर्माणका लागि राप्ती–सोनारी गाउँपालिकाले २ लाख २५ हजार, महिला तथा बालबालिका कार्यालयले एक लाख ५० हजार र हेफर इन्टरनेसनलले दुई लाख रुपैयाँ प्रदान गरेका थिए। बाँकी रकम सहकारी संस्थाले व्यहोरेको छ।