विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घले निष्कर्ष निकालेको छ ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिले धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले बुझाएको प्रतिवेदनलाई आधार मानेर महासङ्घले यस्तो निष्कर्ष निकालेको हो ।
केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला शाखा सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बा मिसनमा संलग्न थिए । मिसनले विभिन्न पक्षसँग छलफल गरेर तयार पारेको प्रतिवेदनमा राईले सामाजिक दूरी र द्वन्द्व बढाउने खालका गतिविधि गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार प्रतिवेदनमा राईले आफ्नो आलोचना गर्नेहरू, नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइज्जती गर्ने गरेको खुलाइएको छ । यसैगरी समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउँनेसम्मका कार्यहरू गरिरहेको देखिएको छ ।
प्रतिवेदन अनुसार उनले आफ्नो राम्रो पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युवरहरूलाई प्रयोग गरेको पाइएको छ । ‘व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ । जवाफ दिन अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदन अनुसार नगरका सूचनाहरू नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जालमार्फत पत्रकार र उनका परिवारलाई पीडा हुने गरी चुनौतीको भाषामा लेख्ने, भिडियो सामग्रीहरू बनाउने कार्यले गोपाल दाहाललगायत पीडित पत्रकारका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको पाइएको छ ।
कतिपय पीडित पत्रकारका छोराछोरीहरू पत्रकार बुबा-आमालाई धम्क्याएका वा गाली गर्दै लेखेका सामाजिक सञ्जालको स्टाटस हेरेर डराएको र विद्यालयमा जानसमेत सशङ्कित हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । मिसन टोलीले बुझाएको प्रतिवेदनका आधारमा महासङ्घले विभिन्न निष्कर्षहरू निकालेको छ ।
मेयर राईका गतिविधिले पछिल्लो समय धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको महासङ्घको निष्कर्ष छ । यस्तै उनको विवादास्पद भूमिकाले प्रशासनिक पारदर्शिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा प्रभाव पारे, अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको उल्लेख गरिएको छ ।
‘उनको गलत कार्यको समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै उनले अपशब्द प्रयोग गर्नुका साथै धम्कीपूर्ण सामग्री सार्वजनिक गरेका छन् । आफ्ना समर्थकहरूलाई पनि त्यस कामका लागि हौसाएको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ । पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता तथा पत्रकारको सुरक्षा र स्वतन्त्रता जोखिममा परेको महासङ्घको ठहर छ ।
नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिए पनि श्रमदानमार्फत संकलन गरेको रकम निजी खातामा राखेर आफूखुसी निकासा गरेकाले यसबारे राज्यले छानबिन गर्नुपर्ने महासङ्घको निष्कर्ष छ । थप छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न केन्द्रीय कार्यसमितिले गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई प्रतिवेदन बुझाउने जनाएको छ ।