दमक, १६ मंसिर । साउन अन्तिम साता आएको बाढीले उठिवास लगाएपछि विस्थापित बनेको कमल गाउँपालिकाको मिस्त्री बस्ती अहिले अस्थायी रूपमा बसेको छ।

Advertisement

१० परिवारका १० टहरामा करिब ७० जनाको गुजरा चलेको छ। तर गुजरा यति कठिन छ कि, दुई गाँस टार्न पनि धौ-धौ छ। देशैभरी निर्वाचनको चहलपहल भइरहे पनि उनीहरुलाई त्यसतर्फ ध्यान दिने फुर्सद नै छैन।

चुनावको कुरा गर्दा साँझमा के खाने भन्ने चिन्ताले सताउने गरेको २२ वर्षीया अञ्जु मिस्त्री बताउँछिन्। ‘दिनभरि हाजिरा(मजदुरी) नगरी हुँदैन, चुनाव आओस् कि जेसुकै आओस् हामीलाई मतलवै छैन’,उनले भनिन्। झन्डा देख्यौं, मान्छे देखेनौँ पूर्वपश्चिम राजमार्गदेखि करिब १० किलोमिटर दक्षिणमा पर्ने कमल गाउँपालिकाको वडा न. १ सरङ्पाडाको मिस्त्री बस्ती अहिले पनि सरकारको आशा र भरोसा पर्खिएर बसेको छ। आफूहरुको समस्या समाधान गरिदिने कोही नआएको त्यही बस्तीकी फूलमनि मिस्त्रीको गुनासो छ।

भोट माग्ने उम्मेदवार कोही नदेखे पनि बस्तीमा विभिन्न राजनीतिक दलका झण्डा चाहिँ गाडिएका छन्। तर, कसले र कतिखेर झण्डा गाडे उनीहरुलाई थाह छैन। ‘हामी त दिनभरि काम गर्न गइहाल्छौँ। घरमा कोही हुँदैन। कसले कतिखेर आएर झन्डा गाड्छ थाहै हुँदैन।’ कामबाट आउँदा झन्डा देख्ने गरेको भए पनि मान्छे नदेखेको उनले बताइन्।

विस्थापित हुनेबित्तिकै तत्कालीन राहत सामग्री लिएर पुग्ने धेरै भए पनि घर बनाइदिने र दिगो बसोवासको बन्दोबस्त गरिदिने कोही नआएको उनीहरुको गुनासो छ। बाढी आउँदा जसोतसो ज्यान त जोगियो, बाँकी केही नजोगिएको उनले बताइन्। जुन खोलाले बास उठायो त्यही खोलाको बगर बन्यो आँगन जुन खोलाले उनीहरुको विचल्ली बनायो अहिले त्यही कमल खोलाको बगरलाई आँगन बनाएर उनीहरुको अस्थाई बस्ती बसेको छ।

उनीहरुको बस्तीसम्म पुग्ने बाटो पनि अस्तव्यस्त छ। बिरामी भएमा एम्बुलेन्स त के, दुई पांग्रे सवारीसाधन पनि पुग्दैन यस बस्तीमा। यही बस्तीमा करिब ७० जनाको गुजारा अहिले चलिरहेको छ। २ छोरा बुहारी भएकी पानवती मिस्त्रीले गुनासो गरिन्, ‘राति समस्या पर्‍यो भने कुनै गाडी पनि आउन नसक्ने ठाउँमा बस्नुपरेको छ।’

बस्ने भरपर्दो स्थान नहुँदा उठिबास लगाउने कमल खोलाले बालुवा भरेको खेतमा खाँबा–खुट्टी गाडेर बसेको उनले बताइन्। बाँस र खरले बनाएको अस्थाई घरमा अहिले बास अडिए पनि यस बस्तीका बासिन्दालाई गाँस धान्न भने चुनौती छ।

रोजगारी पाइँदैन जीवन धान्नै संकट वरिपरिका सबै खेतमा बाढीले बालुवा हालेकाले कृषि मजदुरको रुपमा गर्दै आएको काम पनि घट्यो। अरू पेसा केही छैन।

त्यसैले अहिले दुई गाँसको व्यवस्था मिलाउन पनि कठिन भएको आफ्नो उमेरको ५० वर्ष अन्दाज गर्ने फूलमनीले बताइन्। खेतजति बाढीले बगाएको र भएकोमा पनि बालुवाले भरेपछि यस वर्ष धान काट्ने काम पनि पाउन कठिन भएको उनको भनाइ छ।

दिनको ४ सय रुपैयाँमा कृषि मजदुरको रुपमा काम गर्दै आएका उनीहरु अहिले काम खोज्न पनि बाढीले खेत नबिगारेको बस्तीसम्म धाउनुपरेको छ।

१० परिवारका लागि कुनै दाताले एउटा ट्युवेल गाडिदिएका छन्। कसले त्यो व्यवस्था मिलाइदियो त्यो पनि थाह छैन। त्यही ट्युबेलले अहिले १० परिवारको पानीको अभाव टारिरहेको छ।

त्यसअघि त खोलाकै पानी पिउने बाध्यता थियो। शौचालय बनाउने ठाउँ नहुँदा खोला किनार धाउन बाध्य यस बस्तीमा शौचालय बनाउन गाउँपालिकाले रिङ चाँहि पुर्‍याइदिएको छ।

तर, अझैसम्म शौच गर्न चाहिँ खोला किनारामै धाउनुपर्ने बाध्यता छ। आफूहरुसँग शौचालय बनाउने जमिनसमेत नभएकाले कहाँ शौचालय बनाउने टुंगो नभएको जुटिला मिस्त्रीले बताइन्। ‘आफ्नो जमिन भए पो चर्पी बनाउनु’ उनले भनिन्–‘अब सँधियारहरुसँग कुरा मिलाएर गाविसले चर्पी बनाइदिने भनेको छ।’

आउने सालको बाढीमा फेरि उठिबास नलागोस्, यत्ति मात्र आफूहरुको माग रहेको उनले बताइन्। बस्तीमा झन्डा गाड्नेहरुले समेत भोट नमागेको भन्दै उनले भनिन्, ‘हामी नभएको वेला आएर झन्डा गाडेर गएछन् र भेट भएन।

भेट भएको भए म उनीहरुसँग यही माग राख्ने थिएँ।’ कसैलाई उमेर थाह छैन यस बस्तीमा रहेका अधिकांशलाई आफ्नो उमेर नै थाह छैन। उमेर कति भयो? उत्तरमा पानवती मिस्त्रीले भनिन्, ‘२ छोरा बुहारी छन्, नाति पनि छ। मान्छै मै हुँ, अन्दाज गर्नु न कति भयो।’

नागरिकतामा उमेर लेखेको भए पनि आफूहरुलाई याद नभएको उनको प्रतिक्रिया छ। फूलमनि मिस्त्रीले पनि उमेरबारे प्रश्न सोध्दा उस्तै उत्तर दिइन्, ‘उमेर त नागरिकतामा नै छ, पुगियो होला नि ५० जति।’ यस समुदायका अधिकांश प्रौढ निरक्षर छन्। युवाहरु पनि ७/८ कक्षा पुगेपछि मजदुरीमा लाग्छन् र विद्यालय छोड्छन्। अहिले पनि यो बस्तीमा १० कक्षा उत्तीर्ण गरेका कोही पनि छैनन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!