कञ्चनपुर, १२ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा असिग्राम माध्यमिक विद्यालयको बृहत्तर विकासका लागि सञ्चालन गरिएको महायज्ञमा रु १२ लाख ४४ हजार ४७९ रकम संकलन भएको छ ।

Advertisement

मंसिर ३ गतेदेखि १० गतेसम्म सञ्चालन भएको महायज्ञबाट सो रकम संकलन भएको हो ।

एक सातासम्म सञ्चालन भएको महायज्ञमा कलशबाट रु तीन लाख ३४ हजार ४००, विभिन्न संघसंस्था र व्यक्तिबाट रु छ लाख ४९ हजार ७२०, तुलादानबाट रु २४ हजार ९६९, पूजा आरतीबाट रु दुई हजार ३७९, शालिग्राम पूजाबाट नौ हजार ९१९ रकम संकलन भएको महायज्ञ मूल कार्य समितिका सचिव तेजबहादुर सुनारले बताए ।

“संकलन भएको रकममध्ये महायज्ञ सञ्चालनका क्रममा टेन्ट, व्यवस्थापन, गुरु दक्षिणा, विद्युत्, खानेपानीलगायत गरी रु १० लाख खर्च भएको छ”, उनले भने ।

खर्च भएको रकम कटाइ बाँकी रहेको रकम विद्यालयका निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलाबको व्यवस्था गर्न र विद्यालयमा पढाइको गुणस्तर सुधार गर्नमा खर्च गरिने उनले बताए ।

जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन अक्षयकोष स्थापना

असिग्राम माध्यमिक विद्यालयमा पढ्दै आएका अति विपन्न, गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिनका लागि अक्षयकोष स्थापना गरिएको छ ।

अमेरिकामा बस्दै आएका धर्मसिंह साउदले अक्षयकोषका लागि रु दुई लाख एक हजार र स्थानीय बासिन्दा वीरेन्द्रबहादुर ऐरले रु एक लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोष स्थापना गर्ने ऐर सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षकमा कार्यरत छन् ।

अक्षयकोषमा जम्मा रहेको रकमबाट आउने ब्याजबाट अति विपन्न, गरिब र जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने व्यवस्था गरिएको विद्यालयका प्रद्यानाध्यापक भरतबहादुर ऐरले बताए । विद्यालयमा ४०० भन्दा बढी बालबालिका पढ्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!