गोरखा, ९ मंसिर । १२ वैशाख ०७२ मा गएको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा भूकम्प स्मृति पार्क निर्माण प्रक्रिया सुरु भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पार्क निर्माण गर्न लागिएको हो ।

‘पार्कभित्र देशभरबाट भूकम्पमा ज्यान गुमाउनेको नाम ताम्रपत्रमा लेखी स्तम्भमा राखिनेछ,’ भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले भने । भूकम्पमा परी ज्यान गुमाउनेको जिल्लाअनुसार नाम राख्ने तयारी गरिएको छ । ‘सबैको नाम प्राप्त गर्न नसकिने हो कि भन्ने चुनौती छ,’ श्रेष्ठले भने । पार्क निर्माणका लागि १३ करोड ७ लाख लाग्ने अनुमान गरिएको छ भने पार्क निर्माणको जिम्मा स्वच्छन्द होम निर्माण सेवाले पाएको छ ।

बारपाकलाई पर्यटकीय स्थलको रूपमा परिचित गराउन पनि पार्क निर्माण गर्न लागिएको हो । साँढे दुई वर्षभित्र पार्कभित्रको संरचना निर्माणको काम सक्ने लक्ष्यका साथ काम सुरु भएको श्रेष्ठको भनाइ छ ।

पार्क निर्माणका लागि चालू आर्थिक वर्ष ०७४-७५ मा ४१ लाख ५० हजार प्राप्त भएको श्रेष्ठको भनाइ छ । सरकारी स्वामित्व र निजी स्वामित्वमा रहेको बारपाकको २ सय १६ रोपनी जग्गामा पार्क निर्माण गर्न लागिएका हो । सो जग्गामध्ये ६ रोपनी जग्गा व्यक्तिगत पर्ने भएकाले स्थानान्तरणको तयारी भइरहेको छ ।

पार्कभित्र ज्यान गुमाउनेको नामावलीसहितको स्तम्भ, चमेनागृह, प्रतीक्षालय र संग्रहालय रहनेछ । ‘बारपाको दलित बस्तीमा भत्किएका घर यथास्थितिमै राख्छौँ,’ श्रेष्ठले भने, ‘त्यो वेला भूकम्प जाँदा यसरी घर भत्किएका रहेछन् भनेर पार्कभित्र छिर्नेले हेर्न पाउने भए ।’ भूकम्पले घर भत्काएका ३० देखि ३५ घरधुरीलाई बारपाककै तल्लो भागमा स्थानान्तरण गरिने कार्यालयको तयारी छ ।

‘उहाँहरू स्थानान्तरण गरेको ठाउँमा बस्न राजी पनि भइसक्नुभएको छ,’ उनले भने, ‘४–५ घरधुरी मानिरहनुभएको छैन, उहाँलाई मुआब्जा दिएर जग्गा अधिग्रहणको तयारी गरिरहेका छौँ ।’ ०७२ वैशाख १२ को भूकम्पले भत्किएको घरहरूलाई जस्ताको तस्तै राखेर पार्कभित्रै संग्रहालय निर्माण गर्ने योजना बनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!