संगालोखबर संवाददाता

बाँके, ९ मंसिर । एड्सका कारण बाँकेका १ सय १३ जना एचआइभी संक्रमितको मृत्यू भएको छ । आर्थिक वर्ष २०७३/०७४ असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Advertisement

बाँकेमा तेस्रो लिङ्गीमा समेत एचआइभी संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआइभी/एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रो लिङ्गी, ५३५ पुरुष र ४१४ जना महिलालाई एचआइभी संक्रमण भएको छ ।

उनले बाँकेमा २६ जना बालबालिकामा समेत एचआइभी संक्रमण भएको जानकारी दिए । ‘असुरक्षित यौन सम्पर्क र सूई, सिरिन्जबाट लागू औषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा छन्,’ चन्दले भने, ‘कामका लागि विदेश गएकाबाट पनि एचआइभी सरेको पाइएको छ ।’

उनले ३९४ जना एचआइभी संक्रमितले मात्र एआरटी सेवा लिइरहेको बताए । समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेकाहरु एआरटी सेवाबाट बन्चित भएको उनले बताए । एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनु पर्ने भएकोले केही संक्रमितले सेवा लिन नमानेको चन्दको भनाई छ । ‘एक पटक सेवा लिएपछि जीवनभर लिइरहनु पर्छ, सेवा लिइरहनु पर्ने भएकोले केहीले झन्झट मान्छन्,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।

उनले एआरटी र पिएमटिसिटी सेवा लिन छुटेका एचआइभी संक्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्वन गरेको बताउँदै सरकारले ९०–९०–९० नीतिलाई अगाडी बढाएको जानकारी दिए । सन् २०२० सम्म उपचारबाट बन्चित भएका ९० प्रतिशतलाई सेवा प्रदान गर्ने, ९० प्रतिशत सर्वसाधारणको एचआइभी जाँच गर्ने र ९० प्रतिशतलाई एचआइभी संक्रमणको बारेमा जानकारी दिने सरकारले नीति अघि सारेको उनले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख बरिष्ठ जनस्वास्वास्थ्य प्रशासक खिमबहादुर खड्काले सरकारी नीति अनुसार बाँकेका प्रत्येक गर्भवतीको एचआइभी जाँच गरिदै आएको बताए । उनले गर्भ जाँच गराउन आउने महिलाको अन्य जाँचसँगै एचआइभी जाँच गरिएको जानकारी दिए । उनले एचआइभी संक्रमण भएका महिलालाई पिएमटिसिटी सेवा दिएर बच्चामा एचआइभी सर्न नदिने प्रयास गरिएको बताए ।

भेरी अंचल अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दले भेरी अञ्चल अस्पतालले एचआइभी संक्रमितलाई निशुल्क उपचार सेवा दिएको बताए । उनले सिडिफोर काउन्ट, एआरटी, पिएमटिसिटी सेवा लगायत एचआइभी संक्रमितका लागि छुट्टै वार्डको ब्यवस्था गरिएको समेत बताए ।

भेरी अञ्चल अस्पतालका फिजिसियन डा. संकेत रिसालले भेरी अञ्चल अस्पतालबाट ३ सय ९४ जना एचआइभी संक्रमितले एआरटी सेवा लिइरहेको बताए । उनले सेवा लिन आउने संक्रमितलाई निःशुल्क सेवा र परामर्श प्रदान गरिदै आएको पनि जानकारी दिए । ‘पिएमटिसिटी सेवा लिने गर्भवती महिलाको संख्या पनि उत्तिकै छ,’ उनले भने ।

एड्स दिवसमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

एड्स दिवसका अवसरमा एचआइभी/एड्सको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयले डिसेम्वर १ तारिखका दिन विविध कार्यक्रम गर्ने भएका छन् ।

एचआइभी/एड्सको बारेमा जानकारी दिई न्यूनिकरणमा टेवा पु¥याउन विभिन्न किसिमका सचेतनामुलक कार्यक्रम गर्ने निर्णय भएको असहाय सेवा संघ नेपालगन्जका प्रमुख रविन्द्र सिंह राठौरले जानकारी दिए ।

उनले दिवसको अवसरमा डिसेम्वर १ तारिखका दिन पत्रकार महिला र स्वास्थ्यकर्मी महिला बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय भएको बताए । सोही दिन एचआइभी÷एड्स सम्बन्धि सचेतना जगाउन हाजिरी जवाफ प्रतियोगिताका साथै सचेतनामुलक ¥याली आयोजना गरिने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement