चितवन, ८ मंसिर । पूर्वी चितवनको पदमपुरस्थित थाङगखोला सामुदायिक वन क्षेत्रका महिलाहरुलाई लोपोन्मुख पेसा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै छन्।

Advertisement

पछिल्लो समयमा उनका थप ६५ जना महिलाले तालिम पाएका छन्। उक्त वनका उपोभोक्ताहरुले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला वन कार्यालय चितवनको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने काम सिकाएको हो।

पेसा नहराओस् भनेर यसरी महिलाहरुलाई तालिम प्रदान गरिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए। वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन निकुञ्ज, स्थानीय सामुदायिक वनको हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सञ्चालन गरेको छ।

हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित तालिममा ६५ जना महिलाहरु सहभागी भएको र उनीहरुलाई  आयआर्जनका लागि चर्खासमेत उपलब्ध गराइने भट्टराईले जानकारी दिए।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले महिलाद्वारा सञ्चालित यो सहकारीलाई आवश्यक पर्ने सबै खालको सहयोग गर्न नगरपालिका तयार रहेको बताए।

हराउन लागेको पेसालाई जीवतै राख्न सफल भएको भन्दै उनले यो महत्वपूर्ण काम भएको उल्लेख गरे। जिल्ला वन अधिकृत केदार पौडेलले वरण्डाभार जैविक मार्गको संरक्षणका लागि तालिम महत्वपूर्ण हुने भन्दै यसमा आश्रित समुदायको आर्थिक विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

लाभान्भित समुदायले यस क्षेत्रको संरक्षण, चोरीसिकारी नियन्त्रण र जथाभाभी चरिचरण नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताए। राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले समुदायलाई लक्षित गरी यस्ता कार्यक्रम संरक्षण गरी आयआर्जनमा टेवा पुर्याउने भन्दै २ सय २० भन्दा बढी महिलाहरु यसअघि नै लाभान्वित भइसकेको जानकारी दिए।

सो क्षेत्रमा सीप सिकेर धेरै महिलाहरुले फुर्सदको समयमा चर्खाबाट मनग्य आम्दानी गर्दै आएका छन्। हराउँदै गएको यो पेसा चितवनको पूर्वीक्षेत्र पदमपुरमा भने कायमै छ। पछिलो समयमा यहाँका महिलाहरु गलैँचासमेत बुन्न सुरु गरेका छन्। देवी विक, लीला लामा, ललिता प्रजा, विमा थिङ, शान्ति गुरुङहरु गलैँचा बुनेर आम्दानी बढाउँदै छन्। सामान्यतः एक थान गलैँचा बुनेको उनीहरुले ७ हजार ज्याला पाउँछन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!