धनकुटा, २ मंसिर । धनकुटामा आज बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिकाका सेक्रेटरी विशाल मगर र पाख्रीवास नगरपालिकाका सेक्रेटरी आलोक भनिने हरी श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई सादा पोशाकमा खटिएका प्रहरीले पाख्रीवास नगरपालिका–३ बाट पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।
पक्राउ पर्नेको संख्या ८ पुग्यो
धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८ जना पक्राउ परेका छन । गत बुधबार यता चार दिनको अवधिमा प्रहरीले धनकुटाका बिभिन्न स्थानबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित ८ जनालाई पक्राउ गरेको हो ।
जिल्ला इन्चार्ज गौतम र जिल्ला सदस्य रणकुमार राईलाई गत बिहीबार खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै बुधबार जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझालाई हिले, रञ्जित राईलाई थलथले र प्रेम कटेललाई पाख्रीवासबाट पक्राउ गरिएको थियो ।
यता जिल्ला सदस्य सुमन राईलाई शुक्रबार साँझ धनकुटा–२ भीरगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । निर्वाचन विरोधी गतिबिधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएर धमाधम पक्राउ गर्न थालेको हो ।
यो पनि हेर्नुहोस्…
धनकुटामा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पक्राउ, पक्राउ पर्नेको संख्या छ पुग्यो
धनकुटामा नेकपाका इन्चार्जसहित दुई पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो















