काठमाडौं, १ मंसिर ।आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भएपनि उत्पादन बढ्न सकेको छैन । कफी खेतीबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भएपनि अपेक्षित रुपमा कफी खेती विस्तार हुन सकेको छैन ।

Advertisement

चिया तथा कफी विकास बोर्डले हेरक वर्ष कफी खेती विस्तार भएको बताउँदै आएपनि उत्पादन वृद्धिदर निकै कमजोर छ ।

आर्थिक वर्ष ०६८÷६९ मा १७ सय ६० हेक्टर क्षेत्रफलमा कफी खेती गर्दा पाँच सय २३ मेट्रिक टन उत्पादन भएको थियो । त्यसयता कफी खेती आठ सय ८६ हेक्टरले विस्तार भएर २६ सय ४६ हेक्टर पुगेको छ ।

क्षेत्रफल विस्तार भएपनि कफी उत्पादन चार सय ६६ मेट्रिक टनमा सीमित छ । खेती क्षेत्र विस्तार हुँदा कफी उत्पादन बढ्नुको साटो घटेको बोर्डको तथ्यांकले देखाउँछ ।

परम्परागत खेतीले कफीमा प्रगति हुन नसक्ने चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । ‘किसानले निर्वाहमुखी खेती गरिरहेका छन्,’ गौतमले भने, ‘अपेक्षित रुपमा उत्पादन बढ्न सकेको छैन । ठुल्ठूला स्टेट बनाएर खेती गर्न सक्नुपर्छ ।’
साना किसानको परम्परागत खेतीले उत्पादन बढ्न नसक्ने उनको बुझाइ छ । कफी खेतीमा निजी क्षेत्रले लगानी बढाए प्रशस्त फाइदा लिनसक्ने उनले बताए ।

गत वर्षको तुलनामा सात प्रतिशतले उत्पादन बढे पनि बजारको बढ्दो माग अनुसार पर्याप्त नभएको गौतमले बताए । ‘कफीको माग दिनानुदिन बढ्दैछ,’ गौतमले भने, ‘उत्पादन बढाउन सके स्वदेशी र विदेशी बजारमा बिक्री गर्न सकिन्छ ।’ नेपालमा कफी संस्कृति बढ्दै गएको उनले बताए ।

नेपाली अर्गानिक कफीको माग विश्व बजारमा बढे पनि निकै कममात्र निर्यात गरिरहेको व्यवसायी बताउँछन् । विदेशबाट नेपाली कफीको करिब ६ हजार टन माग रहेको कफी व्यवसायी कृष्ण घिमिरेले बताए । ‘स्वदेशी र विदेशी बजारमा कफीको माग निकै बढेको छ,’ घिमिरेले भने, ‘६ हजार माग्दा ६ सय टन पनि दिन सकेका छैनौं ।’

पोहोरको तुलनामा २८ हेक्टर क्षेत्रफलमा कफी खेती विस्तार भएको छ । आव ०७३÷७३ मा दुई हजार ६ सय १८ हेक्टरमा खेती भएकोमा चालु आवमा दुई हजार ६ सय ४६ हेक्टर पुगेको छ ।

आव ०७३÷७४ मा पाँच करोड चार लाखको ९९ टन कफी आयात भएको छ भने आठ करोड ४५ लाख रुपैयाँको ९५ टन निर्यात भएको अभिलेख छ ।

अघिल्लो वर्षको तुलनामा कफीको आयात र निर्यात दुवै घटेको बोर्डले जनाएको छ । ‘उत्पादन बढे पनि आयात र निर्यात दुवै घट्नुले स्वदेशी उत्पादनको आन्तरिक बजार बढेको देखिन्छ,’ बोर्डका योजना अधिकृत गौरव लुइँटेलले भने, ‘देशभर कफी हाउसको विस्तारले नेपाली कफीको लोकप्रियता बढाउँदै लगेको छ ।’

बोर्डले कफी खेती विस्तार गर्न सात लाख बिरुवा रोपेको जनाएको छ । कफीको विकास गर्न पाँचवर्षे रणनीतिक योजना र कफी निर्यात रणनीति तयार भएको छ ।

बोर्डले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत गुणस्तर मापदण्ड निर्धारण गर्ने तयारी गरिरहेको जनाएको छ । निर्यातजन्य कृषि उपज कफी व्यवसायले मुलुकको अर्थतन्त्रमा टेवा पुग्नेमा सरकारी तथा निजी क्षेत्र दुवै आशावादी छन् ।

उत्पादन बढ्न नसके पनि निर्यात भने बढेको छ । आव ०६८÷६९ मा चार करोड ३० लाखको चिया निर्यात भएकोमा आव ०७३÷७४ मा आठ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा निर्यात घटेको छ । कफी भने अघिल्लो १० करोड ८१ लाख रुपैयाँको निकासी भएको थियो । यहाँ उत्पादन भएको ४० प्रतिशत कफी विदेशी बजारमा बिक्री हुन्छ । ज

र्मनी, कोरिया, जापान, अमेरिका, फ्रान्सलगायत मुलुकमा नेपाली कफी निर्यात हुन्छ । अर्गानिक ग्रिनविन कफी किलोको १५ डलरसम्ममा बिक्री हुने बोर्डले जनाएको छ । बोर्डले ‘आर्थिक समृद्धिको लागि गुणस्तरीय कफी उत्पादन, सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नारासहित बिहीबार  १३औं राष्ट्रिय कफी दिवस मनाएको छ ।

कफीको मूल्य निर्धारण
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आव ०७४÷७५ का लागि कफीको मूल्य निर्धारण गरेको छ । किसानले उत्पादन गरेको कफीको उचित मूल्यमा बजार सुनिश्चित गर्न मूल्य तोकेको बोर्डले जनाएको छ ।

अर्गानिक प्रमाणीकरण गरेको ए ग्रेडको फ्रेस चेरीको प्रतिकिलो मूल्य ८३ रुपैयाँ, अर्गानिक प्रमाणीकरण नभएको बी ग्रेडको प्रतिकिलो ६८ रुपैयाँ मूल्य तोकिएको छ ।

त्यसैगरी, पार्चमेन्ट अर्गानिक प्रमाणीकरण भएको ए ग्रेड किलोको चार सय १५ रुपैयाँ र प्रमाणीकरण नभएको बी ग्रेडको चार सय रुपैयाँ तोकेको छ । ड्राई चेरीलाई तीन ग्रेडमा बाँडफाँड गरेर मूल्य निर्धारण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!