इलाम, १५ कात्तिक । आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्दको वाम गठबन्धन तथा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम अन्तिम टुंगो लगाएका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन (बुधबार) मात्र दलहरूले सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् ।

Advertisement

एमाले स्थायी कमिटीको मंगलबार राति अबेरसम्म बसेको बैठकले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम टुंग्याएको छ । कांग्रेस केन्द्रीय समितिले भने बुधबार दिउँसो मात्रै इलामका प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुंग्याएको हो ।

निर्वाचन क्षेत्र १ को प्रत्यक्षतर्फ प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका झलनाथ खनाल र कांग्रेसबाट भूपेन्द्र कट्टेलले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिनिधिसभाकै क्षेत्र २ मा गठबन्धनबाट एमालेका सुवासचन्द्र नेम्बाङ र कांग्रेसका केशव थापा उम्मेदवार बन्ने भएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र १ को १ मा गठबन्धनबाट एमालेकी खिनु लङ्वा लिम्बू र कांग्रेसबाट देवेन्द्र राईले प्रतिस्पर्धा गर्दैछन् । केही वर्षअघि कांग्रेस छाडेर संघीय समाजवादी फोरमको जिल्ला अध्यक्षसमेत रहेका राई कांग्रेसमै प्रवेश गर्ने सर्तमा कांग्रेसबाट उम्मेदवार बनेको कांग्रेस स्रोतले जनाएको छ । क्षेत्र १ को २ मा गठबन्धनबाट एमालेका काजीमान कागते र कांग्रेसबाट दुर्गा बराल लड्ने भएका छन् ।

प्रदेशतर्फ नै क्षेत्र २ को १ मा गठबन्धनबाट एमालेका रामबहादुर रानासँग कांग्रेसका डम्बर खड्काले प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र २ को २ मा भने गठबन्धनबाट माओवादीका धीरेन शर्मा रमणले कांग्रेसका खगेन्द्र देवानसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको कांग्रेस इलामका कोषाध्यक्ष विष्णु कार्कीले बताए ।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!