काठमाडौं, १५ कात्तिक । एमालेलाई परास्त गर्नका लागि माओवादीको साथ लिनुपर्छ भनेर कांग्रेसभित्र निरन्तर आवाज उठाउने नेता हुन्- डा. नारायण खड्का । भलै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका खड्का सुशील कोइरालाको निधनपछि पार्टीभित्र ‘लो प्रोफाइल’ मा छन् ।

Advertisement

रामचन्द्र पौडेलको गुटमै पनि ६०/४० को भागबण्डाको बिरोध गर्दा खड्का विश्वसनीय बन्न सकेका छैनन् । त्यसैले उनी सांसदको टिकट बाँड्ने संसदीय बोर्डमा पर्न सकेनन् ।

उनले हालै कांगे्रसको एउटा बैठकमा माओवादीलाई एमालेले ४० प्रतिशत दिएर लैजाँदैछ भन्ने कुरा किन आँकलन गरिएन भन्दै नेतृत्वमाथि प्रश्न उठाए । कांग्रेस नेतृत्वको कमजोरीले गर्दा नै माओवादी एमालेतिर गएको खड्काको दाबी छ । तर, चुनावपछि कांग्रेसकै समर्थनमा प्रचण्ड फेरि प्रधानमन्त्री बन्ने उनको अर्को दावी छ ।

प्रस्तुत छ, कांग्रेस नेता खड्कासँग मात्रिका पौडेलले गरेको समसामयिक कुराकानीः

स्थानीय चुनावअघि तपाईले यही ठाउँमा मसँग कुरा गर्दा एमालेलाई रोक्न कांग्रेसले माओवादीसँग तालमेल गर्नुपर्छ भन्नुभएको थियो, त्यही लाइनअनुसार स्थानीय चुनावमा तालमेल पनि भयो, तर न एमालेलाई पहिलो हुनबाट रोक्न सक्नुभयो, न त माओवादीलाई नै आफूसँग राख्न सक्नुभयो । किन यस्तो भएको होला ?

हो मैले भनेकै हो, एमालेलाई रोक्न कांग्रेसले माओवादीलाई साथमा लिनुपर्छ । हामीले भरतपुर र पोखरा महानगरपालिका, हेटौंडा र बुटवल उपमहानगरसहित धेरै ठाउँमा माओवादीसँँग चुनावी तालमेल गरेकै हो । त्यसको फाइदा बेफाइदा के भयो भन्ने आफ्नै ठाउँमा होला । तर, एमालेले २ नम्बरको चुनावपछि खेल खेल्यो ।

माओवादीको समग्र परिणामले पनि ऊ एउटा शक्तिका रुपमा आएपछि एमालेले भरतपुरको इगो राखेर खेल्यो । माओवादीलाई साथमा लिएर जाँदा बहुमत आउने उसले आँकलन गरेको हो । हामी त्यसमा चुक्यौं ।

खासगरी त्यो सत्ताकै लागि भएको गठबन्धन हो । यिनीहरु (एमाले माओवादी) को एकीकरण हुँदैन । लेखेर राख्नुस् । टिकट बाँडफाँटमै यिनीहरुको रडाको छ ।

पार्टी एकीकरणको कुरा त उनीहरुको आन्तरिक विषय भयो, तर माओवादीलाई तपाईहरुले किन आफूसँग राख्न सक्नुभएन, जबकि अब १० वर्ष मिलेर जाने भनेको होइन ?

अहिले प्रचण्ड राजमार्ग छाडेर गल्लीतिर पसेका छन् तर, चुनावपछि फेरि राजमार्गमा आउनेछन् र कांग्रेसले प्रधानमन्त्री बनाउनेछ

हाम्रो यसमा कमजोरी भएकै हो । यसमा गठबन्धनको अन्य कुरा छाडौं, मूल कुरा यो विशुद्ध रुपमा सत्ताका लागि भयो । प्रचण्डजीको बहकिने अस्थिर मानसिकता छ भन्ने कुरा हामीले बुझेर पनि उनलाई चेक गर्न सकेनौं । एमालेले उनको कमजोरीमा टेकेर हामीमाथि हान्यो । उसले प्रचण्डलाई राष्ट्रपतिको लोभ देखायो । बामपन्थी मिलेर दुई तिहाई बहुमत ल्याउने, संविधान संशोधन गरेर प्रचण्डलाई राष्ट्रपति बनाउने आश्वासन दियो ।

माओवादीले हामीसँग पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि ४०/४५ सिट मागिरहेको थियो । हाम्रो तर्फबाट २५/३० सम्म दिने कुरा भएको हो । तर, उसले जहाँबाट बढी पाइन्छ त्यतै गयो, यो कुरामा हामी चुक्यौं ।

तपाईंको आशय माओवादीलाई ४०/४५ प्रतिशत दिएर भए पनि एमालेसँग जानबाट रोक्नुपर्थ्यो भन्ने हो ?

वास्तवमा हामीले उसलाई त्यति दिएर भने पनि राख्नुपर्थ्यो। यसमा हामी चुकेकै हो । तर, समग्रमा एमालेसँगको गठबन्धनले माओवादीलाई दीर्घकालीन रुपमा फाइदा होइन, घाटा छ ।

क्षति त भएको छ नि उसलाई । ४० प्रतिशतमा खुम्चिनु भनेको १६५ सिटमा उसले पाउने ५०/५२ बाहेक अरु सिट त गयो । ती ठाउँमा उसका कार्यकर्ता भोलि टिकट पाउँला भनेर बसेका थिए । लामो संघर्षबाट आएका कार्यकर्ताको त राजनीति सिद्धियो ।

उसले तत्कालीन लाभका लागि ४० प्रतिशत धेरै पाइयो भनेर सम्झौता गरेको छ, तर यसले दीर्घकालीन रुपमा माओवादीलाई घाटा हुन्छ ।

होइन, सिंगल लड्दा माओवादीले पाउने भन्दा त अहिले ४० प्रतिशत लिएर लड्दा धेरै पाउने भयो नि ?

सिंगल लड्दा त माओवादीले १०/१२ सिट जित्ने अवस्था पनि थिएन । अहिले एमालेसँग मिल्दा पनि धेरै सिट जित्ने म देख्दिनँ । किनकि यो अप डाउन एकता भयो, डाउन-अप भएन । तल एमाले र माओवादीका कार्यकर्ताबीच ठूलो द्वन्द्व छ । एमालेले माओवादीलाई सर्लक्कै भोट दिएर जिताउने अवस्था देखिन्न । धेरै भोट एमालेको छ,थोरै भोट भएकोलाई जिताउन गाह्रो हुन्छ ।

माओवादीले यो चुनाव आफ्नै क्षमतामा लडेको भए उसको वास्तविक शक्ति थाहा हुने थियो । उसले अधैर्य देखायो । लामो राजनीतिमा चाहिँ माओवादीले यसबाट घाटा व्यहोर्ने देख्छु मैले ।

यत्रो बामपन्थी मत छ, स्थानीय चुनावको मत हेर्दा हार्ने त गुन्जायस नै देखिन्न त ?

स्थानीय तहको मतलाई म त्यति भ्यालु दिन्नँ । त्यो भनेको आफ्नै खालको भोट हो । बरु ०७० को मतले केही सिनारियो दिन्छ । तर, स्थानीय तहको चुनावको त ५०/६० प्रतिशत भोटमात्रै आउने हो ।

तपाईहरुले माओवादीलाई बुझ्न नसकेको हो कि, माओवादीले तपाईहरुलाई बुझेर बाहिरिएको हो ?

मैले नै कांग्रेसभित्र सबैभन्दा पहिले माओवादीलाई सँगै लिएर जानुपर्छ भनेर लगातार बहस गरेको हुँ । माओवादीसँग मिल्नुपर्छ भन्ने मत मैले नै राखेको हो । सुशील कोइराला हट्दै गर्दा मैले नै प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव लिएर गएको थिएँ । त्योबेला उहाँले एमालेतिरै जाने इच्छा राख्नुभयो । पछि एमालेलाई लात्ती हानेर आउनुभयो, फेरि अहिले हामीलाई लात्ती हान्नुभयो ।

जहाँसम्म अहिलेको कुरा छ, ४५ प्रतिशत सिट नमिलेको कुराले माओवादी जान्छ कि भन्ने लागेको थियो । उसले फाइदा हेरिरहन्छ भन्ने अनुमान थियो । मैले हाम्रो पार्टीको बैठकमा पनि भनेको थिएँ, प्रचण्डलाई चिन्न हामीले किन सकेनौं ? माओवादीले के गर्दैछ भन्ने उसको मूभ बुझ्न किन सकिएन ? यो हिसाबले हेर्दा हाम्रो नेतृत्वले माओवादीलाई बुझ्न सकेन ।

बिजया दशमीका बेला ओली-प्रचण्ड सम्झौताले तपाईहरुलाई सरप्राइज दिएको हो ?

त्यो त सरप्राइज्ड नै भयो । प्रधानमन्त्रीलाई सूचना त आउनुपर्नै हो । तर, कुनै छनक नै नपाई एकाएक सरप्राइज्ड दियो एमालेले । कांग्रेसले ४० प्रतिशत नदिँदा यिनीहरु एमालेतिर जान सक्छन् भन्ने बुझ्नुपथ्र्यो । ४० होइन, ४५ प्रतिशत दिएर हामीसँग राख्नुपर्थ्यो ।

हुन त उनीहरुको मात्र चाहनाले एकता भएको होइन, यसमा बाहृय फ्याक्टरले पनि काम गरेका छन् । तर, पनि हामीले माओवादीको चासो सम्बोधन गर्न नसकेकै हो ।

बाहृय शक्ति भन्नाले चीनतिर संकेत गर्नुभएको हो ?

म सिधै चाइना भन्दिनँ, तर अहिले जुन दक्षिण एशियामा तरल सम्बन्ध भइरहेको छ, दुवै राष्ट्रले आफ्नो फेबरको बलियो सरकार होस् भन्ने चाहन्छन् । नेपाल बडो रणनीतिक हिसाबले बसेको देश हो । यसमा सबैको चासो हुने नै भयो ।

जहाँसम्म चीनको भूमिकाको कुरा छ, नेपालका कम्युनिस्टहरु मिलून् भन्ने चाहना उनीहरुको स्वाभाविक हो । यसबीचमा एमालेका नेता पनि र माओवादीका नेता पनि चीन भ्रमणमा गइरहेकै छन् । तर, बाहिर देखिने गरी अरु देशहरु जसरी आउँछन्, चाइनिज त्यसरी आउँदैनन् । सरकारको एउटा पक्ष हो, त्यहाँको सरकारलाई प्रभाव पार्नेहरुले खेल खेले होलान् ।

फेरि पछिल्लो समय केपी ओली चाइनाको विश्वासिलो साथी भएका छन् । ओबरमा उनले सी जिनपिङलाई साथ दिए । हिजो पनि राजाहरु चीनका स्थायी पार्टनर थिए । आज उनीहरुले केपी ओलीलाई भरोसायोग्य मित्रका रुपमा पाएका छन् ।

भारतसँग सम्बन्ध बिग्रेका बेला चीनसँग उनले भरोसायोग्य साथीको छवि बनाए । चीनलाई पनि ओलीप्रति विश्वास बढ्यो । यसमा ओलीजी र प्रचण्डजी मिलेपछि बहुमतको स्थायी सरकार बन्छ भन्ने कुराले चीनले साथ दिएको हुनुपर्छ ।

कम्युनिस्टहरुले बहुमत ल्याउने देखियो ,त्यसपछिको अवस्था के होला ?

बहुमत ल्याए भने जनादेश मान्न तयार छौं । तर, एक स्टेप अघि बढेर भन्छु- यो गठबन्धनबाट बहुमत आयो भने पनि त्यो धेरै जाँदैन । रिजल्ट उनीहरुले सोचेजस्तो आयो भने पनि यो भौगोलिक धु्रवीकरणतिर जान्छ ।

पहाड, हिमालको र तराईको अलग ल्याण्डस्केप आउँछ । त्यो अवस्था मुलुकका लागि राम्रो हुँदैन । अर्को कुरा, यो गठबन्धनबाट कम्युनिस्टहरुले ठूलो शक्ति आर्जन गरे भने अन्तरराष्ट्रिय शक्तिराष्ट्रका लागि खतरा हुन सक्छ । भोलि उनीहरुले खेल्दिन्छन् । नेपाल विदेशीहरुको खेलमैदान हुन सक्छ ।

कम्युनिस्टको बहुमत आउँदा कुन विदेशीलाई आपत्ति ?

सिटौलाजीले गर्दा राप्रपासँगको गठबन्धन तोडिने अवस्था आउनदिनु हुँदैनथ्यो, उहाँले पार्टीको लाभ  हेरेर पनि समानुपातिकमा बस्नुपर्थ्यो

केपी ओलीको छवि एन्टी इन्डियन छ । उनी प्रो-चाइनिज हुन् भन्ने भारतीय मिडियाहरुको प्रचार हेरिरहनुभएकै छ । तर, मैले सर्ट टर्ममा भन्ने हो भने यो निर्वाचनपछि नै यिनीहरु एक अर्कालाई गाली गर्दै निस्कन्छन् । भोलि हामीसँग मिल्दा सरकार बन्ने हो भने माओवादी हामीतिरै आउँछ । त्यो अवस्थामा मेरो प्रस्ताव प्रचण्डलाई प्रधानमन्त्री बनाएर जानुपर्छ भन्ने हुन्छ ।

अझै पनि माओवादीलाई प्रोमोट गरेर लानुपर्छ । चुनावपछि प्रचण्डलाई कांग्रेसले नै प्रधानमन्त्री बनाउनेछ, हेरिराख्नु होला ।

कतिपयले त माओवादीको लागि यो अन्तिम एपिसोड हो पनि भनिरहेका छन् नि ?

अन्तिम एपिसोड भयो भने अर्को खतरा हुन्छ, शान्ति प्रक्रियाका लागि । त्यसपछि उग्रवादी शक्ति हावी हुन थाल्छन् । अहिलेका माओवादीका कार्यकर्ता निराश भएर विद्रोही समूहतिर लाग्न सक्छन् । माओवादीलाई लोकतन्त्रको राजमार्गमा हिँडाउने काम हाम्रो हो । अहिले प्रचण्ड राजमार्ग छाडेर गल्लीतिर पसेका छन् । तर चुनावपछि फेरि राजमार्गमा आउनेछन् र कांग्रेसले प्रधानमन्त्री बनाउनेछ ।

चुनावपछिको दलहरुको सम्भावित साइजबारे केही आँकलन गर्नुभएको छ ?

मोटामोटी हेर्दा हामीले प्रत्यक्षतर्फ ५०/६० सिट ल्याउँछौं । समानुपातिकमा ३५/४० का बीचमा आउला । केही सिटले एमाले पहिलो पार्टी हुन्छ । माओवादीले धेरै लुज गर्न सक्छ । मधेसवादी दुई दल र भक्तपुरमा नेमकिपा आउला । राप्रपाले पनि कहीँ कतै ल्याउन सक्ला ।

कम्युनिस्टहरुले ६०/४० भागबण्डा गरेपछि कांग्रेसमा पनि देउवा पक्ष र रामचन्द्र पक्षवीच टिकटमा ६०/४० भागवण्डा भएको हो ?

कांग्रेसमा ६०/४० हाम्रो आन्तरिक अभ्यास नै भइसक्यो । हाम्रोबाट उनीहरुले पनि सिकेका होलान् । त्यही कोटाबारे असन्टुष्ट भएर मैले टिकट बाँड्ने संसदीय बोर्डमा बस्न चाहिनँ । बोर्डमा गुटप्रति बफादार मान्छे चाहिने रहेछ, तर हामीजस्ता मान्छेको आवाज कमजोर छ ।

तपाईहरुले मधेसवादी दलसँग गठबन्धन गर्न सक्नुभएन, गठबन्धनमा आएको राप्रपा समेत झापाबाट भड्किएको छ, किन हो ?

मधेसवादीलाई अलि उदार भएर सिट दिएर भने पनि कम्युनिस्टलाई रोक्नुपर्छ भन्ने मेरो आग्रह हो । सकेसम्म रणनीतिकरुपमा अझै पनि तालमेल हुन्छ । तर, सिटौलाजीले गर्दा राप्रपासँगको गठबन्धन तोडिने अवस्था आउनदिनु हुँदैनथ्यो । उहाँले पनि पार्टीको लाभ हेरेर समानुपातिकमा बस्नुपर्थ्यो।

सिटौलाजीले गर्दा भुइँचालो आउने अवस्था देखिनु राम्रो भएन । पार्टीको लार्जर हितमा हेर्दा यो ठीक भएन । सिटौलाजी प्रत्यक्षमा चुनाव नलड्दा पार्टीलाई के घाटा हुन्थ्यो ? मलाई अचम्म लागिरहेको छ ।

मधेसवादीसँग मिलाउन तपाईहरुलाई दक्षिणतिरको दबाव त आइरहेको होला नि ?

मधेसको खुला सीमाना भएकाले दक्षिणका चासो हुनु स्वाभाविक हो । खुला सीमानाले गर्दा केही न केही स्वार्थ र चासोको विषय होला । मधेसमा उनीहरुको हित विपरीतको शक्ति नआओस्, लोकतान्त्रिक फोर्स आउन् भन्ने चाहना हुन सक्छ । तर, हामी उनीहरुको दबाबमा निर्णय गर्दैनौं ।

कांग्रेसले जसरी ०५६ मा किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा बहुमत ल्यायो, अहिले पनि त्यस्तो घोषणा गर्छ कि भन्ने थियो, तर किन गरेन ?

त्योबेला गिरिजाबाबुले किसुनजीलाई प्रधानमन्त्री घोषणा गर्नु बाध्यता थियो । किसुनजीको व्यक्तित्व गुटभन्दा माथि थियो । म उहाँको सल्लाहकार भएर काम गरेको हिसाबले भन्दैछु । तर, अहिले चुनावअघि नै प्रम घोषणा गर्दा काउन्टर प्रोडक्टिभ हुन्छ ।

रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्री भन्दा के बिग्रिन्छ ?

उहाँले पनि एउटा गुटको प्रतिनिधित्व गर्नुहुन्छ, अर्को गुटले स्वीकार गरेको अवस्था छैन । किसनुजीजस्तो मान्छे उहाँ होइन ।

अर्कोतिर गोविन्दराज जोशीले च्यालेञ्ज गरिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री घोषणा गर्दा सबै हराउन लागे भने के गर्ने ? त्यो पनि सोच्नुपर्छ ।

अन्त्यमा, कांग्रेसका धेरै नेता यसपालि समानुपातिकमा बस्न खोजेको देखियो, तपाई चाहिँ क्षेत्रमै जान खोज्दै हुनुहुन्छ किन ?

मेरो क्षेत्रमा मेरो राजनीति अलि फरक छ । मैले त्यहाँ पार्टी भनेर हेरेको छैन । ०७० मा पूर्वाञ्चलमै मैले सबैभन्दा फरकमा जितेको हो । अझ मेरो २ हजार भन्दा बढी मत बदर भयो ।

अहिले पनि स्थायी चुनावको परिणामलाई आधार मानेर कतिपयले वामपन्थी बलियो भनेका छन् । म त्यो परिणामलाई मान्दिनँ । त्यहाँ त व्यक्तिले चुनाव लडेको हो । मलाई एमाले, माओवादी सबैले भोट दिएका छन् र दिन्छन् । मैले त्यहाँ विकास निर्माणमा धेरै काम गरेको छु । मलाई कत्ति पनि डर छैन ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!