भारत, १५ कात्तिक । भारतमा १० वर्षीया बालिकाको बलात्कारमा दुईजना पुरुष दोषी रहेको फास्ट ट्र्याक कोर्टले फैसला गरेको छ । बलात्कृत बालिकाले यही अगस्टमा छोरी जन्माएकी थिइन् । अदालतले दोषी ठहर गरेका दुवै व्यक्ति बालिकाको सहोदर काका हुन् । उनीहरूविरुद्ध बिहीबार अदालतले सजाय सुनाउने भएको छ ।
बालिकाले यही जुलाईमा पेट दुखेको गुनासो गरेपछि अभिभावकले उनलाई अस्पताल लगेका थिए । चिकित्सकहरूले उनी गर्भवती भएको बताएका थिए ।
बालिकाले दिएको विवरणका आधारमा तत्कालै उनका एक काका पक्राउ परेका थिए । तर, नवजात शिशुको डिएनए बालिकाका काकासँग नमिलेपछि अर्का काकामाथि शंका गरिएको थियो । १८ दिन लामो सुनुवाइपछि दुवै काका दोषी पाइएको अदालतले मंगलबार जनाएको छ ।
बलात्कृत बालिकाले शिशु जन्म दिएको समाचारले भारत र विश्वकै ध्यान आकृष्ट गरेको थियो । गर्भवती भएको सार्वजनिक भएपछि उनका अभिभावकले भ्रुण हत्या गर्न पाउनुपर्ने माग गर्दै चन्डीगढको एक अदालतमा निवेदन दिएका थिए । तर, अदालतले बालिकाका तर्फबाट भएको अनुरोधलाई अस्वीकार गरेको थियो ।
त्यसअघि चिकित्सकहरूको एउटा समूहले गर्भपतनले बालिकाको स्वास्थ्यमा जोखिम निम्त्याउने भन्दै गर्भपतन नगर्न सुझाब दिएको थियो । सोही कारण देखाउँदै सर्वोच्च अदालतले पनि बालिकाले गर्भपतन गर्न नसक्ने फैसला गरेको थियो ।
भारतीय कानुनअनुसार कुनै पनि महिलाले २० साताभन्दा लामो गर्भ पतन गर्न नपाउने व्यवस्था छ । तर, गर्भपतन नगर्दा आमाको स्वास्थ्यमा गम्भीर खतरा निम्तिन सक्ने चिकित्सकहरूले सुझाब दिएमा २० सातापछि पनि गर्भपतन गर्न सक्नेछन्। बालिकालाई आफू गर्भवती भएको कुनै जानकारी थिएन । बारम्बार पेट दुखेको गुनासो गरेपछि उनलाई स्टोन भएको अनुमान गरिएको थियो ।
बालिकाले अदालतसमक्ष आफ्नै काकाले सात महिनादेखि बारम्बार बलात्कार गरेको बताएकी थिइन् । बालिकाले दिएका विवरणका आधारमा काका पक्राउ परेका थिए । तर, उनको डिएनए परीक्षणमा ती काका नवजात शिशुको बालक हुन नसक्ने पुष्टि भएपछि प्रहरीले थप शंकास्पद व्यक्ति खोजी गरेको थियो । सोही क्रममा उनका अर्का काका यही सेप्टम्बरमा पक्राउ परेका थिए । डिएनए परीक्षणबाट पक्राउ परेका काका नवजात शिशुको बाबु भएको पुष्टि भएको छ ।
यसैबीच, उनले जन्माएको शिशु अभिभावकले अस्वीकार गरेपछि बाल कल्याण निकायका अधिकारीहरूले एडोप्ट गरेका छन् । भारतमा बालबालिकामाथि बलात्कार दर बढ्दो छ । एक तथ्यांकअनुसार हरेक एक सय ५५ मिनेटमा भारतमा १६ वर्षमुनिका बालिका बलात्कार हुने गर्छन् । सन् २०१५ मा १० हजारभन्दा बढी बालिकामाथि बलात्कार भएको थियो ।-नयाँ पत्रिका