
विराटनगर । विराटनगरस्थित पिचफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको आरोप लागेकी महिला कर्मचारी ६० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश रामचन्द्र खड्काको इजलासले बिहीबार मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आत्महत्या दुरुत्साहन कसुरमा थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो ।
तत्काल प्राप्त प्रमाणबाट पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने अवस्था नदेखिएपछि ६० हजार रुपैयाँ नगद वा सो बराबरको सम्पत्ति जमानत लिएर रिहा गर्न आदेश दिइएको छ ।
अदालतको आदेशमा खत्रीको मृत्यु घाँटीमा दबाब परी झुन्डिएर भएको पोस्टमार्टम प्रतिवेदनलाई आधार मानिएको छ । विषादी वा मदिरा सेवन भए/नभएको परीक्षण गर्न भिसेरा सुरक्षित राखिएको विवरणसमेत आदेशमा उल्लेख गरिएको छ ।
गत मंसिर ७ गते दसैँको पूर्णिमाका दिन रेस्टुरेन्टबाट स्कुटर लिएर निस्किएका ५१ वर्षीय खत्री भोलिपल्ट मोरङको केराबारी गाउँपालिका-३ को जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनापछि खत्रीका भाइले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले शव भेटिएकै दिन रेस्टुरेन्टकी महिला कर्मचारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
मृतकका परिवारले ती कर्मचारीमाथि मानसिक तनाव दिएको, व्यक्तिगत सम्बन्धका कारण विवाद निम्त्याएको र आर्थिक अनियमितता गरेको आरोप लगाए पनि आरोपितले ती आरोप अस्वीकार गर्दै आएकी छन् ।
प्रहरीले व्यक्तिगत सम्बन्ध र आर्थिक हिसाबकिताबको विवादलाई पृष्ठभूमि मान्दै मोबाइल तथा विद्युतीय विवरण परीक्षण गरे पनि आत्महत्या दुरुत्साहन पुष्टि गर्ने निर्णायक आधार र आर्थिक हिनामिनाको प्रमाण तत्काल फेला नपरेको विवरण सार्वजनिक भएको छ ।
जर्मनी र दुबईका तारे होटलमा काम गरेको अनुभव बटुलेर लगानी गरेका खत्रीले विराटनगरको पिपलचोक र गोल्छाचोकमा आठ वर्षदेखि पिचफायर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

संगालोखबर 



















