संगालोखबर

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ मा अवैध रुपमा दर्जनौं रूख कटान भएको पाइएको छ । आवश्यक कागजी प्रक्रिया पूरा नगरी ऐलानी जग्गाको खोटेसल्ला र चिलाउने जातका रूख काटिएको हो ।

Advertisement

काठ व्यापार गर्दै आएका स्थानीय मेघराज खतिवडाले अवैध रुपमा रूख कटान गरेको स्थानीयवासी बताउँछन् । खतिवडाले सरकारी जग्गाको रूख कटान गरेको भनेर एक स्थानीयले जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी नै दिएका छन् । सो विषय डिभिजन वन कार्यालय धनकुटामा पनि जानकारी गराइएपछि निशानदेवी सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कुलप्रसाद भट्टराई नेतृत्वको टोलीले रूख कटान भएको क्षेत्रमा स्थलगत अनुगमन गरेको छ । ‘हामीले कटान भएको क्षेत्रको निरीक्षण गर्यौं । अब त्यसको भेरिफाइ गर्न बाँकी छ । त्यसको लागि नापी कार्यालयलाई पत्र पठाउँछौ’, उनले संगालोखबरसँग भने, ‘करिब ३०/३५ वटा साना ठूला रूख कटान भएको छ । दुई/तीन ठाउँमा भएकाले यो संख्या बढी पनि हुनसक्छ ।’

निजी या ऐलानी जग्गाको रूख कटान भएको हो भन्ने खुल्न बाँकी रहेको उनले बताए । सो कुराको निर्धारण भएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । निजी जग्गाको पनि थोरै मात्रामा घरायसी प्रयोजनका लागि मात्रै रूख काट्न पाइने र त्यसलाई निकासी गर्न नपाइने उनले बताए । धेरै संख्यामा रूख काट्दा बन कार्यालयबाट अनुमति लिनुपर्ने भट्टराई बताउँछन् ।

गोलिया बिक्री गर्न रोक

कटान गरिएको केही स्थानमा मात्रै गोलिया भेटिएको छ । केही स्थानको ढुवानी भइसकेको र ढुवानी हुन बाँकी रहेका गोलिया बिक्री गर्न रोक लगाइएको सहायक वन अधिकृत भट्टराईले जानकारी दिए ।

निशानदेवी सव डिभिजन वन कार्यालय धनकुटाका प्रमुख अमृत पन्तले उजुरीका आधारमा रूख कटान भएको क्षेत्रको अनुगमन गरिएको बताए । ‘यस विषयमा जानकारी पाउनेबित्तिकै अनुगमन टोली पठाइयो’, उनले संगालोखबरसँग भने, ‘अब रुख कटान भएको क्षेत्र नम्बरी हो या ऐलानी भन्ने यकिन गर्न बाँकी छ । त्यसको यकिन नापी कार्यालयबाट हुन्छ । त्यसपछि आवश्यक कारबाही प्रक्रिया अघि बढ्छ ।’

दोषीमाथि कारवाही हुन्छ: डीएफओ ढकाल

डिभिजन वन कार्यालय धनकुटाका प्रमुख डिभिजनल वन अधिकृत सञ्जीवराज ढकालले रूख कटान भएको क्षेत्रमा अनुगमन टोली पुगेर स्थलगत निरीक्षण गरेकाले अब थप प्रकृया अघि बढ्ने बताए । वन ऐन तथा प्रचलित कानुनअनुसार अनुसन्धान गरी दोषी ठहर हुने व्यक्तिमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने उनको भनाई छ ।

खतिवडा भन्छन् ‘मलाई थाहै छैन’

रूख कटान गरेको आरोप लागेका खतिवडाले आफूलाई यो विषयमा केही पनि जानकारी नभएको प्रतिक्रिया दिए । ‘यो विषयमा मलाई केही थाहा छैन,’ संगालोखबरको जिज्ञासामा उनले भने, ‘मैले काटेको हैन, मलाई थाहै छैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!