
धनकुटा । धनकुटामा मुख्य बसोबास गर्ने सिमान्तकृत जाति भित्र पर्ने आठपहरियाको मुख्य चाड वडाङ्मी (मंसिरे) सुरु भएको छ । एक महिनासम्म चल्ने आठपहरियाको मुख्य चाड वडाङ्मी माङ्लाङ उठाएपछि सुरु भएको हो ।
आठपहरिया जातिले विषेश गरी बैशाखे, भदौरे र मंसिरे गरि तीनवटा चाड मनाउने गरेका छन् । जसमध्ये वडाङ्मी अर्थात् मंसिरे चाडलाई महत्वपूर्ण तथा ठूलो मानिन्छ ।
यो चाडमा दुःखबाट उक्सिने, घरमा जेठो छोरो जन्मिँदा र नयाँ घर निर्माण गरेपछि हर्षोल्लासका मनाउने गरिएको धनकुटा-८ का वडाध्यक्ष रसबहादुर आठपहरियाले बताए ।

वर्षभरी आफ्ना बुबाआमा गुमाउनेहरू धनकुटाबाट हिँडेर सुनसरीको बराहक्षेत्र जाने गर्दछन् । बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल र दाह्री खौरिएर सो सहित दसी बगाउने तथा बराह भगवानको दर्शन गरेर देउता आफ्नो घरमा लिएर आउने प्रचलन छ ।
बेलुका धनकुटाको साँगुरीगढी-९ स्थित आहाले र भञ्ज्याङ (सिमलबाँस) मा बास बस्छन् । पुनः बिहानै हिँडेर बराहक्षेत्र पुग्छन् र कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गर्छन् ।

त्यसपछि बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बस्न आइपुग्ने आठपहरिया समाजका केन्द्रिय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिए । यस्तै देउता लिएर फर्की तमोर नदि किनारस्थित मूलघाटमा बास बसेर घर आइपुग्ने गरेका छन् । पूर्णिमाको दिन बिहान घर आएपछि दुःखको कर्म फुकाउने काम हुन्छ ।
यससँगै भोज खुवाउने र आठपहरियाको कला, संस्कृति, भेषभुषा र रीतिथिति अनुसारको नाचगान गर्ने प्रचलन छ । उक्त नाच आठपहरियाको घरैपिच्छे पुगेर औँसीसम्म नाच्ने गरिन्छ । आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ ।

संगालोखबर 



















