
विराटनगर । नेपाली अनुसन्धानकर्ता डा. रोजी प्रधान श्रेष्ठले ५ करोड २५ लाख रुपैयाँ (२ लाख ५५ हजार ८८४.७३ बेलायती पाउन्ड स्टर्लिङ) राशिको प्रतिष्ठित ‘ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय अनुसन्धान फेलोसिप २०२६’ प्राप्त गरेकी छन् ।
बेलायतको लफबरो विश्वविद्यालयमा सञ्चालन हुने दुई वर्षे अनुसन्धान परियोजनाका लागि उक्त अनुदान स्वीकृत भएको हो । विराटनगरकी चेली डा. प्रधान यो प्रतिष्ठित अध्येतावृत्ति हात पार्ने पहिलो नेपाली अनुसन्धानकर्ता बनेकी हुन् ।
सन् २०२६ डिसेम्बरदेखि २०२८ नोभेम्बरसम्म प्रमुख अनुसन्धानकर्ता तथा ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय अध्येताका रूपमा बेलायतमै रहेर उनले परियोजनाको नेतृत्व गर्नेछिन् । यस फेलोसिपसँगै डा. प्रधानले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका प्राज्ञिक व्यक्तित्वका लागि उपलब्ध विशेष आप्रवासन मार्ग ‘ग्लोबल ट्यालेन्ट भिसा’ समेत प्राप्त गरेकी छन् ।
‘सीमान्तकृत वर्गमा ऊर्जा संकट : बेलायतको शून्य कार्बन उत्सर्जन अभियानमा उमेर, लैङ्गिकता र आप्रवासनको बहुआयामिक दृष्टिकोण’ शीर्षकमा उनको अनुसन्धान केन्द्रित रहनेछ ।
बेलायतको शून्य कार्बन उत्सर्जनतर्फको ऊर्जा रूपान्तरणले सीमान्तकृत समुदायमा पार्ने प्रभाव, ऊर्जा पहुँचको असमानता र मुख्यधारका नीतिमा छुट्न गएका समुदायको अनुभवलाई समेट्ने विषयमा अध्ययन गरिनेछ ।
अनुसन्धानका निष्कर्षहरू शैक्षिक प्रकाशन र प्रतिवेदनमार्फत सार्वजनिक गरिनेछ, जसले नेपाललगायत विकासोन्मुख देशमा ऊर्जा गरिबी न्यूनीकरण र न्यायपूर्ण ऊर्जा रूपान्तरणको नीतिगत बहसमा महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
विराटनगर-२ माइती भई विराटनगर-५ मा बसोबास गरेको उनको परिवार केही वर्षयता काठमाडौँमा बस्दै आएको छ । सशस्त्र प्रहरी बलका पूर्व नायब महानिरीक्षक (डीआईजी) डा. मन्दिप श्रेष्ठकी धर्मपत्नी तथा एक छोरा र एक छोरीकी आमा डा. प्रधान विगत केही वर्षदेखि नियमित अनुसन्धानमा सक्रिय छिन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तरमा स्वर्णपदक हासिल गरेकी उनले सन् २०२३ मा थाइल्यान्डको प्रिन्स अफ सोङ्खला विश्वविद्यालयबाट दिगो ऊर्जा व्यवस्थापनमा विद्यावारिधि (पिएचडी) पूरा गरेकी हुन् । यसअघि सन् २०२५ मा उनले युरोपेली आयोगको ‘मेरी स्क्लोडोस्का क्युरी पोस्टडक्टोरल फेलोसिप सिल अफ एक्सिलेन्स’ समेत प्राप्त गरिसकेकी छन् ।

संगालोखबर 



















