हँसियाको टुप्पोले खोपेर
बाँसघारिको एउटा बाँसमा
किन लेख्यौ मेरो नाम ?
धेरै वर्षपछि
बाले काट्नुभयो त्यही बाँस
र टाट्नो बनाउनुभयो ।
बाख्राको घाँस थामेर उभिँदा उमिँदै
मेरो नाम खोपिएको बाँसले बनेको टाट्नो
यसपालिको वर्षात नसकिँदै
मक्किएर ढल्यो
मक्किन बाँकी बाँसको टुक्रामा
अझै थियो मेरो नाम,
त्यही टुक्रा झोसेर
बाल्नुभो आमाले
अँगेनोमा आगो
र भुट्नुभो मकै भट्मास ।
आगोले बाँस डढेपछी
मेरो नाम पनि डढ्यो बाँस सँगै
र सकियो
तिमिले बाँसमा लेखेको
मेरो नामको इतिहास ।
आज म सोंचिरहेछु÷ देधारमा छु
यो कुराको खबर
पठाउँ कि नपठाउँ तिमिलाई ?