
विराटनगर । चाडपर्वको अवसरमा आन्तरिक बजारलाई चलायमान बनाउन र आन्तरिक व्यापार प्रवर्द्धन गर्ने उद्देश्यका साथ विराटनगरमा दोस्रो संकरणको ‘विराट ट्रेड फेयर’ आयोजना हुने भएको छ ।
विराट व्यापार संघको आयोजनामा असोज २२ देखि ३० गतेसम्म विराटनगरको जैन भवनमा ‘विराट ट्रेड फेयर’ हुन लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै मेलामा नेपालसहित छिमेकी मुलुक भारत, बाङ्गलादेश र पाकिस्तानका गरी करिब एक सय स्टल रहने जानकारी दिएको छ ।
मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, धातुका सामान, विद्युतीय तथा विद्युत उपकरण, गाडी, फर्निसिङ, गृहउपयोगी सामग्री, कृषि उत्पादन, सूचना प्रविधि तथा हस्तकला लगायतका विविध वस्तु तथा सेवाको प्रदर्शनी एवं बिक्री हुने विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए ।
चाडपर्वका बेला सीमापारी जोगबनी तथा भारतका अन्य बजारमा हुने किनमेल घटाएर विराटनगरमै सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनु मेलाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । मेलाले स्थानीय व्यवसायीलाई व्यापारको अवसर दिनाका साथै स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।
व्यापारसँगै दर्शकका लागि राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, बालबालिकाका लागि मनोरञ्जनात्मक स्थल, खाद्य परिकारका कक्षहरू, नेपाली कलाकृतिमा आधारित सेल्फी जोन र आकर्षक प्रवेश द्वार निर्माण गरिने कार्यक्रम संयोजक श्यामलाल पौडेलले जानकारी दिए ।
मेलालाई करिब एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यसअघि वि.सं. २०६७ मा ‘विराट ट्रेड फेयर’ को पहिलो संस्करण आयोजना भएको थियो । सो बेला करिब ५५ हजार दर्शकले मेलाको अवलोकन गरेका थिए ।

संगालोखबर 














