सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ डाँडागाउँका शिवबहादुर बस्नेतले कुराउनीबाट राम्रो आम्दानी गर्दै आएका छन् । गाउँमै संकलन गरेको दूधबाट बनाएको कुराउनी बस्नेतले स्थानीय बजारदेखि काठमाडौंसम्म बिक्री गर्छन् ।

उनको दैनिकी हरेक बिहान दूध संकलनबाट सुरु हुन्छ । त्यसपछि ठूलो फलामे कराईमा दूध घण्टौँसम्म तताउँदै चलाउँदै कुराउनी बनाएर प्याकिङ गर्ने र ग्राहकसम्म पठाउनु उनको दैनिकी हो ।

उनले स्थानीय बजार धनकुटासहित, संखुवासभा, सुनसरी, मोरङ हुँदै काठमाडौंसम्म कुराउनी पुग्ने गरेको बताए । उनले आफैँले पनि उन्नत जातका तीन वटा गाई र भैंसी पालेका छन् ।

घर-परिवारका सबै सदस्यहरू समेत यही व्यवसायमा आवद्ध छन् । उद्योगमा कुराउनीसँगै  घ्यू र छुर्पीसमेत उत्पादन हुँदै आएको छ । माग अनुसार दैनिक करिब ४० किलोसम्म कुराउनी बनाउने गरेको उनले बताए ।

प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको कुराउनीको माग पछिल्लो समय अत्यधिक बढेको उनको भनाइ छ । गाउँमै प्रशोधन उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानलाई समेत राहत पुगेको छ । दूध बेच्न बजार खोज्नुपर्ने र धाउनुपर्ने बाध्यतासमेत हटेको छ ।

दुग्ध उत्पादनको सम्भावनालाई थप विस्तार गर्न महालक्ष्मी नगरपालिकाले डाडाँगाउँलाई गाई पकेट क्षेत्र घोषणा गरि लागत साझेदारीमा गाई वितरणसमेत गरेको छ । गाईसँगै घाँस काट्ने उपकरण उपलब्ध गराउनुका साथै गोठ सुधारका लागि किसानलाई राहत कार्यक्रमले थप सहयोग पुगेको स्थानीय रञ्जिता बस्नेतले बताइन् ।

महालक्ष्मी नगरपालिकाल-१, ३ र ६ मा लागत साझेदारीमा उन्नत गाई भैँसी वितरण, गोठ सुधार, घाँस खेती तथा सौर्य प्रणाली जडानजस्ता कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गरिरहेको नगरप्रमुख ध्रुवराज रायमाझीले बताए ।

नगरको सहयोगले गर्दा घुमाउने, मूर्तिढुङ्गा र डाँडागाउँमा अहिले दूध उत्पादन मात्र नभई त्यसको प्रशोधन र बजारीकरणक पनि विस्तारै विस्तार हुँदै गएको छ । जसले गर्दा स्थानीयले उत्पादन गर्दै आएको दूध गाउँघरमै बिक्री हुन थालेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!