भक्तपुर, ११ कात्तिक । भक्तपुरमा सवारी चलाउने चालक र सहचालकले अनिवार्य रुपमा अंग्रेजी सिक्नुपर्ने सुझाव विभिन्न व्यक्तिहरुले दिएका छन् ।
भक्तपुर नगरपालिकाले पर्यटकलाई लक्ष्य गर्दै चालक र सहचालकले अनिवार्य अंग्रेजी बोल्नु सिक्नुपर्ने सुझाव भक्तपुरका राजनीतिक दल तथा तिनका नेताले दिएका हुन् ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भक्तपुर आउने पर्यटकसँग बोल्न चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताए ।
भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीकोे शुक्रबार आयोजित पदस्थापन कार्यक्रममा उनले केही नपढेका र घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन् भन्ने समाजको बुझाइ रहेकाले सो भ्रम चिर्न चालक सहचालकले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने समेत उनले बताए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले समितिले भक्तपुर जिल्लाभर आफ्नो सेवा विस्तार गर्दै समाजको मन जित्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले समितिअन्तर्गतका गाडी र त्यसका चालक तथा सहचालक सम्बन्धमा आएको गुनासोलाई कम गर्दै सेवा सुविधा यात्रुअनुकूल बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।
मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र स्थानीय भाडा रु १० मात्रै लिने निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । समितिको यही कात्तिक १ गते सम्पन्न १२औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले उक्त निर्णयलाई लागू गर्ने बताएको हो ।
समितिको अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो । नवनिर्वाचित पदाधिकारीलाई नेता सुवालले प्रमाणपत्र वितरण तथा निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।