संगालोखबर


विराटनगर । विराटनगरस्थित प्रतिष्ठित समाजसेवी तथा औद्योगिक घराना देवनरा ग्रुपको निजी निवास र कार्यालयमा प्रहरीले साढे पाँच घण्टासम्म चलाएको खानतलासी अभियानप्रति नेपाल उद्योग परिसंघ (सीआईएन) कोशी प्रदेशले गम्भीर आपत्ति जनाएको छ ।

बिहान उज्यालो नहुँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निजी निवासलाई चारैतिरबाट घेराबन्दी गरेर सञ्चालन गरिएको यस कारबाहीले व्यवसायी समुदायमा भय र त्रास सिर्जना गरेको परिसंघको ठहर छ ।

उक्त प्रतिष्ठानका सञ्चालक तथा निर्देशक प्रकाश मुन्दडा परिसंघका वरिष्ठ उपाध्यक्ष रहनुका साथै आधा दर्जन उद्योगमार्फत हजारौँ मजदुरलाई रोजगारी दिँदै राज्यको राजस्वमा महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएका व्यक्ति भएको सीआईएनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

परिसंघका अध्यक्ष पवन कुमार सारडाद्वारा जारी प्रेस विज्ञप्तिमा जुनसुकै नागरिक वा संस्थामाथि कानुन बमोजिम अनुसन्धान गर्ने अधिकार राज्यसँग रहे पनि त्यसको प्रयोग गर्दा नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक, गोपनीयताको अधिकार र मानव मर्यादाको संरक्षण हुनु अनिवार्य रहेको उल्लेख छ ।

एकाबिहानै गरिएको यस घेराबन्दी र साढे पाँच घण्टा लामो खानतलासीले परिवारका सदस्य तथा ज्येष्ठ नागरिकलाई मानसिक दबाबमा पारेको र यसले सम्पूर्ण उद्योग-व्यवसायी समुदायको मनोबलमा गम्भीर असर पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यदि यस्तो कारबाही अपरिहार्य थियो भने त्यसको कानुनी आधार, सूचना र उद्देश्यबारे राज्यले पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने र खोजतलासबाट के प्राप्त भयो भन्ने विषयमा कानुनसम्मत सीमाभित्र रहेर नागरिकलाई प्रष्ट जानकारी दिइनुपर्ने माग परिसंघले गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल मुलुक आर्थिक मन्दी, लगानीमा संकुचन, उत्पादनमा गिरावट र रोजगारी संकटजस्ता गम्भीर चुनौतीसँग जुधिरहेको संवेदनशील अवस्थामा उद्योगी-व्यवसायीलाई त्रसित र सशंकित बनाउने शैलीका गतिविधिले लगानीको वातावरणलाई थप कमजोर बनाउँछ ।’

सरकारले निजी क्षेत्रलाई आतङ्कित पार्नुको साटो राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्न जोडदार परिसंघले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!