
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई हाइकिङ लगिएको छ । शनिबार मोरङको लेटाङ नगरपालिका-१ स्थित प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको राजारानी क्षेत्रमा उनीहरूलाई हाइकिङ लगिएको हो ।
यो यात्रा केवल पहाड चढ्ने वा ताल हेर्नेमा मात्र सीमित नभएर प्रकृति, इतिहास, जैविक विविधता, धार्मिक सद्भाव र स्थानीय संस्कृतिको साक्षात्कार गराउने महत्वपूर्ण पक्ष बनेको स्कुलले जनाएको छ ।
लेटाङ-२ को किराँत चोकबाट सुरु भएको पदयात्राले चुरे पहाडको बाटो हुँदै करिब डेढ घण्टाको उकालोको यात्रा तय गरेको थियो । राजारानी ताल पुग्नेबित्तिकै विद्यार्थीहरूको अनुहारमा उत्साह झल्किएको थियो ।
पुस्तकमा मात्र पढेको जैविक विविधता र वनस्पतिको संसारलाई आफ्नै आँखाले देख्ने अवसर पाउँदा उत्साह थपिएको विद्यार्थीहरूले बताए । प्रकृतिले आफैं सञ्चालन गरिरहेको विशाल प्रयोगशालामा पुगेजस्तो अनुभूति भएको विद्यार्थीले सुनाए ।
राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले त्यस क्षेत्रको इतिहास सुनाइरहँदा विद्यार्थीहरूले ध्यानपूर्वक सुनेका थिए । राजारानीलाई अजिङ्गरहरूको राजधानी मानिने, धिमाल समुदायको उद्गमस्थलका रूपमा लिइने तथा यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे जानकारी दिँदा विद्यार्थीहरूले पुस्तकबाहिरको इतिहाससँग साक्षात्कार गर्ने अवसर पाएका छन् ।
विद्यार्थी निश्चल न्यौपानेले प्रकृति, इतिहास र वातावरणबारे यति धेरै कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरे । विद्यार्थीहरूका लागि राजारानी भ्रमणको अर्को विशेष आकर्षण लेटाङ नगरपालिकाले निर्माण गरेको अन्तरधार्मिक पार्क रह्यो ।
हिन्दु, बौद्ध, किराँत, इस्लाम र इसाई धर्मबीच सद्भाव र सहअस्तित्वको सन्देश दिने उद्देश्यले निर्माण गरिएको पार्कले विद्यार्थी, शिक्षक र सहभागी सबैको ध्यान तानेको थियो । पत्रकार पुष्पराज थपलियाका अनुसार यो पार्क धार्मिक संरचना मात्र नभएर नेपाली समाजको विविधताभित्रको एकताको सशक्त प्रतीक हो ।
लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले विद्यार्थीहरूलाई स्वागत गरेका थिए । उनीहरूले विद्यार्थीहरूलाई राजारानी क्षेत्रको प्राकृतिक, जैविक, ऐतिहासिक तथा पर्यटन महत्वबारे विस्तृत जानकारी गराएका थिए ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट स्कुलले शैक्षिक भ्रमणलाई मनोरञ्जनमा मात्र सीमित नराखी सिकाइसँग जोड्ने प्रयास गर्दै आएको बताए । उनले राजारानी क्षेत्रको प्रचार–प्रसार, व्यवस्थित पूर्वाधार र निर्माणाधीन सडक समयमै सम्पन्न हुन सके यस क्षेत्रले पर्यटनमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे ।

संगालोखबर 













