संगालोखबर


विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले दुईवटा महत्वपूर्ण निर्णयहरू गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अनुसन्धान प्रतिष्ठानको दरबन्दी स्वीकृति र देवानगन्ज घटनाका पीडितलाई राहत दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान भद्रपुर र प्रदेश लगानी प्राधिकरण विराटनगरको अस्थायी सङ्गठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

त्यसैगरी सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटना तथा अन्य झडपका क्रममा हालसम्म सुनसरीमा दुई र सिरहामा एक गरी तीन जना नागरिकको ज्यान गएको प्रति प्रदेश सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

सरकारले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्‍त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

उक्त घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउने क्रममा मन्त्रिपरिषद्ले मृतकका परिवारलाई प्रति परिवार २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको प्रवक्ता पराजुलीले जानकारी दिए ।

साथै, घटनामा घाइते भएकाहरूलाई उपचार सहायता बापत प्रति व्यक्ति ५० हजार रुपैयाँ र घर तथा पसलमा क्षति भएका परिवारलाई प्रति परिवार ५० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनीबाट समस्याको समाधान नहुने स्पष्ट पार्दै कोशी प्रदेश सरकारले वार्ता र संवादका माध्यमबाटै हल खोज्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

यस जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक समाज, राजनीतिक दल र सरोकारवालाहरूलाई जिम्मेवार बन्न आह्वान गर्दै शान्ति सुरक्षा कायम गरी नागरिकको जीवनको रक्षा गर्नु सरकारको प्राथमिक दायित्व भएकाले शान्ति व्यवस्था कायम राख्न प्रदेश सरकारले सबैमा अपिल गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!