संगालोखबर


विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सामाजिक सद्भाव तथा शान्तिका लागि अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले उत्तेजना र आवेगले समस्यालाई झन् जटिल बनाउने भएकाले सबै पक्षलाई संयमित भएर शान्ति कायम राख्न आग्रह गरेका हुन् ।

केही दिनदेखि सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगनञ्जमा घटेको दुःखदायी घटना र मधेश प्रदेशका सिराहा, सप्तरी, धनुषा लगायतका जिल्लामा विकसित घटनाक्रम र उत्पन्न सामाजिक तनावप्रति उनले दुःख व्यक्त गरेका छन् ।

उक्त घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादव प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्‍त परिवारजनमा गहिरो दुःख व्यक्त गरेका छन् । यस्तै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको समेत कामना समेत गरेका छन् ।

‘हाम्रो समाज सदिऔं देखि विभिन्न भाषा, धर्म, संस्कृति र समुदायहरूबीचको आपसी भाइचारा, सहिष्णुता र अभेद्य एकतामा अडिएको छ’, उनले भनेका छन्, ‘विविधताभित्रको यही एकता नै हाम्रो वास्तविक शक्ति र पहिचान हो । कुनै पनि किसिमको हिंसा, तनाव र अविश्वासले कसैको पनि भलो गर्दैन, यसले केवल हाम्रो सामाजिक सद्भावलाई कमजोर बनाउँछ र विकासको गतिलाई अवरुद्ध पार्छ ।’

कुनै पनि समस्या, असहमति वा असमझदारीको समाधान केवल शान्तिपूर्ण संवाद, परस्पर सम्मान र कानूनको पालनाबाट मात्र सम्भव उनले उनले उल्लेख गरेका छन् । उत्तेजना र आवेगले समस्यालाई झन् जटिल बनाउने भएकाले सबै पक्षलाई संयमित हुन र शान्ति कायम राख्न उनले अनुरोध गरेका छन् ।

उनले सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नागरिक समाज, राजनीतिक दल, धर्मगुरु, बुद्धिजीवी तथा युवा जेन्जी वर्गहरूमा धैर्य र संयमता अपनाउँदै आपसी सदभाव, शान्ति र भाइचारा कायम राख्न विनम्र अपिल गरेका हुन् ।

‘सामाजिक सद्भाव र शान्ति कायम गर्न अनुरोध गर्दछु । साथै मृत्युवरण गर्नेका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क औषधोपचार गर्ने सरकारको निर्णय अविलम्ब कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध गर्दछु’, उनले भनेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!