
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका मृतकका परिवार र प्रभावितलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले राहत प्रदान गर्ने घोषणा गरेको हो । यस्तै सामाजिक सद्भाव, शान्ति र सुरक्षा सुदृढ बनाउन आठबुँदे निर्णयसमेत भएको छ ।
प्रदेश सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ तथा आगजनीबाट घर, पसल र अन्य संरचनामा क्षति बेहोरेका तथा घाइते भएकाका परिवारलाई जनही ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको हो ।
साउन १० गते आइतबार राति कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन प्रदेश सरकारले राजनीतिक दल, सुरक्षा निकाय, प्रशासन तथा सरोकारवाला पक्षसँग बैठक बसेको छ ।
बैठकले घटनामा ज्यान गुमाएका देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
बैठकले सामाजिक सद्भाव र साम्प्रदायिक एकतालाई थप मजबुत बनाउन राजनीतिक दल, सामाजिक संस्था र प्रशासनबीच समन्वयात्मक पहल गर्ने निर्णय लिएको छ । स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने तथा समुदायस्तरमा मेलमिलाप र आपसी विश्वास बढाउन सद्भाव यात्रा, सार्वजनिक अपिललगायतका अभियान सञ्चालन गरिने भएको छ ।
बैठकले सबै धार्मिक समुदायका संघ संस्थाले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएको छ । सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा निकायलाई थप सतर्क रहन आग्रह गरिएको छ । घाइतेको उपचार तथा मृतकका परिवारलाई थप राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, देवानगन्जसहित प्रभावित जिल्ला र आसपासका क्षेत्रमा यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच आवश्यक समन्वय गर्न आग्रह गरिएको छ ।

संगालोखबर 

















