
विराटनगर । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा आइतबार राति भएको साम्प्रदायिक झडपपछि सरकारले कोशी प्रदेश र सुनसरीको सुरक्षा तथा प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गरेको छ । साम्प्रदायिक झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।
घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई गृह मन्त्रालय फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई पठाएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ । उनी बिदामा बसेकै बेला सुनसरीमा घटना भएको हो । उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआइजी शेखर खनाल कोशी प्रदेश प्रहरी प्रमुख बनेर आएका छन् ।
सुनसरीका प्रहरी प्रमुख (एसपी) केशवकुमार थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ । उनको ठाउँमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको स्थानमा प्रधान कार्यालयबाट डीएसपी मदन नाथलाई खटाइएको छ ।
आइतबार राति बोलबम यात्राका क्रममा बजाइएको डिजेलाई लिएर सुरु भएको विवाद दुई समुदायबीच हिंसात्मक झडपमा परिणत हुँदा देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको थियो । घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर २२ जनाभन्दा बढी घाइते भएका थिए ।

संगालोखबर 

















