संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ । महानगरले कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

आज नगरसभाको बैठकमा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले आगामी वर्षको आय-व्ययको अनुमानित विवरणका साथै चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको बजेट समीक्षा समेत प्रस्तुत गरेकी छन् ।

Advertisement

सार्वजनिक गरिएको बजेटको आम्दानी सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, सशर्त चालू अनुदानबाट ७३ करोड २९ लाख र सशर्त पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकारको समानीकरण अनुदानबाट ३ करोड ६२ लाख ५० हजार, सशर्त चालू अनुदानबाट ४ करोड १ लाख २४ हजार र सशर्त पुँजीगत तर्फ ६ करोड ६३ लाख रुपैयाँ आय हुने महानगरको अनुमान छ ।

राजस्व बाँडफाँड अन्तर्गत सवारी साधन, मनोरञ्जन, विज्ञापन, घरजग्गा रजिस्ट्रेसन, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क समेतबाट कुल ९२ करोड ५६ लाख १८ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ । महानगरले आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ८ हजार, विभिन्न सङ्घसंस्थाको अनुदानबाट १ करोड १६ लाख र बैंक मौज्दातबाट १४ करोड रुपैयाँ परिचालन गर्ने जनाएको छ ।

विनियोजित कुल बजेटमध्ये क्षेत्रगत व्ययअन्तर्गत पूर्वाधार विकासका लागि सबैभन्दा धेरै १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ ।

सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार, आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ९३ लाख १० हजार र वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ५९ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ७६ करोड २८ लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

चालू आर्थिक वर्षमा कुल ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँ आय हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्म २ अर्ब २६ करोड २८ लाख रुपैयाँ मात्र प्राप्त भएको छ । व्ययतर्फ चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कुल बजेटको ४४.७६ प्रतिशत अर्थात १ अर्ब ६४ करोड ८८ लाख ४६ हजार ६ सय ९५ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।

पूर्णपाठ हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!