
विराटनगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक र सामाजिक विषयहरूमाथि व्यापक छलफल गर्दै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री शाहले संसद्मा दिएको ‘नेपालले समेत भारतको विभिन्न ठाउँमा सिमाना मिचेको’ भन्ने भौगोलिक अखण्डतामाथि प्रश्न उठ्ने अभिव्यक्तिप्रति खेद प्रकट गर्दै आत्मालोचना, आम नेपाली जनतासँग माफी तथा राजीनामाको माग गरेको छ ।
‘इन्द्रबहादुर राई जस्ता भुईँ मान्छेहरूलाई मर्न बाध्य पार्नेगरि गरिएको अमानवीय व्यवहारको कडा विरोध गर्दै सुकुम्बासीहरूको न्यायोचित, मानवीय र सम्मानजनक व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको संसदप्रतिको अपमान, जवाफदेहिताविहीन शासनशैली तथा लोकतान्त्रिक मूल्य-मान्यतामाथि देखिएको उदासीनताप्रति पनि बैठकले गम्भीर चिन्ता व्यक्त गरेको छ ।’


संगालोखबर 

















