
विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले आफू मन्त्री भएपछिको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालय परिसरमा आज पत्रकार भेटघाट कार्यक्रम गरेर मन्त्री पराजुलीले सय दिनमा भएका सय वटै कामको विवरण सार्वजनिक गरेका हुन् ।
मोरङ क्षेत्र नं.४ (ख) मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित पराजुली गत पुस २२ गते पर्यटन मन्त्री नियुक्त भएका हुन् । त्यसयताको सय दिनमा उनको नेतृत्वमा मन्त्रालयले गरेका कामको विवरण सार्वजनिक गरिएको छ ।

जसमा पर्यटन क्षेत्रतर्फ ओखलढुंगाको हर्कपुरमा पर्यटन सूचना केन्द्र स्थापना, गण्डकी प्रदेशको पर्यटन मन्त्रालयसँग अन्तर प्रदेश पर्यटन प्रवर्द्धन समझदारीमा हस्ताक्षर, इलाम ताप्लेजुङ र खोटाङमा होमस्टे सञ्चालकरूलाई तालिम, पर्यटन व्यवसायी तथा निजी क्षेत्रसँग बहस लगायत १९ काम उल्लेख छ ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत लालीगुराँस, मुन्धुम, चियाबारी, फाल्गुनन्दमा ४६ किलोमिटर पदमार्ग निर्माण तथा मर्मत गरिएको छ । वन वातावरण तथा भू संरक्षणतर्फ धनकुटा र पाँचथरमा १६ लाखको लागतमा दुई वटा स्थायी नर्सरी निर्माण गरिनुका साथै तेह्रथुमको लालीगुराँसमा सिस्नु प्रशोधन उद्योग थप सुधार गरी सिस्नु पाउडर उत्पादन सुरु गरिएको छ । त्यस्तै, वन पैदावार उत्पादनमा ६, वन व्यवस्थापनमा ८, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा जैविक विविधता संरक्षणमा ११, संस्थागत क्षमता अभिवृद्धिमा २७ र भू तथा जलाधार व्यवस्थापनमा १७ वटा काम भएको उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा नतिजा देखिनेगरी काम गर्ने प्रयास भइरहेको बताए । सो अवसरमा मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटाले यो चौमासिकमा तुलनात्मक रुपमा उल्लेख्य काम भएको जानकारी दिएका छन् ।
भिडियो…

रबिन कटेल/संगालोखबर 




















