
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बन्न पार्टीले तोकेको आन्तरिक परीक्षा र प्रशिक्षण अनिवार्य उत्तीर्ण गर्नुपर्ने मापदण्ड तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि नयाँ र कडा मापदण्ड तय गरेको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार उम्मेदवार हुन चाहने पार्टी सदस्यले अब अनिवार्य रूपमा ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्नेछ । नेतृत्वको योग्यता र क्षमतालाई प्राथमिकता दिने उद्देश्यले यो विधि अपनाइएको रास्वपाले जनाएको छ ।
बैठकले आगामी निर्वाचन र नेतृत्व चयनका लागि विभिन्न कार्यविधिहरूमाथि पनि घनिभूत छलफल गरेको छ । विशेषगरी ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ र ‘महाधिवेशन कार्यविधि २०८३’ का सम्बन्धमा कार्यसूची नै बनाएर छलफल अघि बढाइएको छ ।

संगालोखबर 























