संगालोखबर

विराटनगर । जल तथा मौसम विज्ञान विभागले आज कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । आज अपराह्न ४ बजे तीव्र गतिको हावाहुरी सुरु हुने र भोलि बिहान ६ः४५ बजे समाप्त हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

हावाहुरीबाट कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ । यस्तै मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्ला पनि हावाहुरीबाट प्रभावित हुनसक्ने विभागले जनाएको छ । गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला पनि हावाहुरीबाट प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ ।

यसैगरी लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सोही सूचनाका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गरेर सावधानी अपनाउन आह्वान गरेको छ । सकेसम्म घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका राम्रोसँग बन्द गर्न, जस्तालगायतबाट बनेको छाने कमजोर छ भने बन्धन बलियो बनाउन, घरबाहिर आगो नबाल्न प्राधिकरणले सुझाव दिएको छ । यसैगरी लड्नसक्ने कमजोर संरचना, अग्ला रूख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन पनि भनिएको छ ।

विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङसहित असिना पानी पर्ने प्रणाली पनि पश्चिमबाट पूर्वतिर सर्दै जाने सम्भावना छ । देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!