
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बजारमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।
आज विज्ञप्ति जारी गर्दै आयोगले मध्यपूर्वमा उत्पन्न परिस्थितिका कारण सिर्जना भएको त्रास र बजारमा देखिएको कृत्रिम अभावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग र नेपाल खाद्य व्यवस्था कम्पनीलगायतका निकायहरूको अनुगमन गर्दा पेट्रोलियम पदार्थको कच्चा पदार्थ साविक बमोजिम नै नियमित रूपमा आपूर्ति भइरहेको पाएको छ ।
केही ग्यास कम्पनीहरूको ढुवानी व्यवस्थापनमा सामान्य समस्या देखिए तापनि सञ्चार माध्यमहरूमा अभावको सन्देश प्रवाह हुँदा उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्ने प्रवृत्ति बढेको र कतिपय व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको आयोगको ठहर छ ।
आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न, कृत्रिम अभाव पैदा गर्नेहरूलाई कानुनी दायरामा ल्याउन र अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्न सरकारलाई निर्देशन दिएको छ ।


संगालोखबर 













