
काठमाडौं । राहदानी विभागले राहदानी छपाइ र वितरणका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी आधुनिक प्रणाली कार्यान्वयनमा ल्याउने अन्तिम तयारी गरेको छ ।
विभागले राहदानी प्रणाली र पुस्तिका लगायतका आवश्यक पूर्वाधार तयार पारिसकेको जानकारी दिँदै आगामी एकदेखि दुई महिनाभित्र हालको प्रणालीलाई नयाँमा स्थानान्तरण गर्ने योजना बनाएको हो ।
पुरानो प्रणालीबाट नयाँमा ‘स्विच’ हुने अन्तरिम अवधिमा राहदानी सेवा केही समयका लागि प्रभावित हुन सक्ने विभागले उल्लेख गरेको छ ।
विभागका अनुसार प्रणाली परिवर्तन र सुदृढीकरणका क्रममा जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्छ ।
त्यसैगरी काठमाडौँस्थित राहदानी विभागबाट प्रवाह हुने सेवा पनि करिब एक हप्तासम्म रोकिन सक्ने सम्भावना रहेको छ । नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्मको समय लाग्न सक्ने भएकाले उक्त अवधिमा राहदानी तयार भई जारी हुन साविकको तुलनामा बढी समय लाग्न सक्ने विभागले स्पष्ट पारेको छ ।
प्रणाली परिवर्तनको समयमा हुन सक्ने सम्भावित ढिलाइ र प्राविधिक असहजतालाई मध्यनजर गर्दै विभागले आगामी ६ महिना अर्थात २०८३ असोजभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीहरूलाई अन्तरिम अवस्था सुरु हुनु अगावै आवेदन दिन विशेष अनुरोध गरेको छ ।


संगालोखबर 















