
विराटनगर । स्थानीय सरकार र प्रदेश सभाको ५ वर्षे कार्यकाल बीचमै छोडेर संघीय सांसद बन्ने आकांक्षा राखेका कोशी प्रदेशका अधिकांश जनप्रतिनिधिहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।
धरान उपमहानगरपालिकाको प्रमुखबाट राजिनामा दिएका हर्कराज राई (साम्पाङ) बाहेक अन्य सबै निवर्तमान जनप्रतिनिधिहरूले लज्जास्पद हार ब्यहोर्नु परेको हो ।
सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हर्कले ३५ हजार ७४१ मत प्राप्त गर्दै सानदार जित दर्ता गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरे । तामाङले २७ हजार २४९ मत प्राप्त गर्दा नेकपा एमालेका टिकाराम लिम्बू ६ हजार ४६३ मतका साथ तेस्रो स्थानमा खुम्चिए ।
यसपटकको निर्वाचनमा प्रदेश सांसद पदबाट राजीनामा दिएर झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्ति प्रसाद सिटौलाको पराजय सबैभन्दा चकित पार्ने खालको रह्यो । उनले जमानत समेत जोगाउन सकेनन् ।
जम्मा २ हजार ८० मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भएका सिटौलालाई रास्वपाका शम्भुप्रसाद ढकालले ४३ हजार ६३१ मत ल्याएर पराजित गरे ।
यसैगरी पालिका प्रमुखको पद छोडेर चुनावी मैदानमा होमिएका मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवाल पनि पराजित भए । मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेको उम्मेदवार बनेका अग्रवालले १५ हजार ६२४ मत ल्याए पनि रास्वपाका कृष्णकुमार कार्कीसँग पराजित भए । कार्की ४० हजार ९२४ मतका साथ विजयी भए ।
इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राई पनि पाँचौँ स्थानमा धकेलिएका छन् । पछिल्लो मत परिणाम अनुसार उनी पाँचौँ स्थानमा छन् ।
उनले जित्ने सम्भावना सकिएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष पद त्यागेर मैदानमा उत्रिएका असिम राई भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । उनलाई नेपाली काँग्रेसका प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत ल्याएर पराजित गरे भने राईले ९ हजार ४१४ मत मात्र प्राप्त गरे ।
उदयपुर क्षेत्र नम्बर २ मा पालिका अध्यक्ष छोडेर स्वतन्त्र उम्मेदवार बनेका मेजर राईको हालत झन् खराब देखियो । उनले मात्र ९० मत प्राप्त गर्दै ११ औँ स्थान हासिल गरे । सो क्षेत्रबाट रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार २ मतका साथ विजयी भए ।
ओखलढुंगाको लिखु पिके गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि चौथो स्थानमा सीमित भइन् । त्यहाँ रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित विजयी भएका छन् । धरान १७ को वडाध्यक्ष पदबाट राजीनामा दिएर सुनसरी १ बाटै उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराई (मनोज) ले ६ हजार १८५ मत मात्र प्राप्त गरे ।

संगालोखबर 















