
विराटनगर । विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न नगर्ने ७ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सातवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो ।
विभिन्न सरकारी निकायहरूले काममा लापरवाही गर्ने ती कम्पनीहरूलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले यस्तो निर्णय गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम ती कम्पनीहरूलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गल्तीको प्रकृति हेरेर ती कम्पनीहरूलाई ६ महिनादेखि १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । यो अवधिभर ती कम्पनीहरूले नेपाल सरकारको कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया वा बोलपत्रमा सहभागी हुन पाउने छैनन् ।
कालो सूचीमा परेका कम्पनीहरूको विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको आधिकारिक वेबसाइटमा समेत राखिएको छ । यो कारबाहीसँगै अब ती कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि नयाँ सरकारी कामको जिम्मा लिन पाउने छैनन् ।


संगालोखबर 















