संगालोखबर


काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको झण्डा जलाउनेलाई तत्काल कारबाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै कारबाहीको माग गरेको हो ।

फागुन ७ गते राति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अङ्कित झण्डा जलाएको भन्दै पार्टीले आज प्रेस विज्ञप्ति जारी गरेर भर्त्सना गरेको छ ।

एमाले निर्वाचन परिचालन कमिटीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा रास्वपा कार्यकर्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्द प्रयोग गर्दै नाराबाजी गरेको र महासचिव शंकर पोखरेलको गृह नगरमा अराजक शैली प्रदर्शन गरेको उल्लेख छ ।

‘लाखौँ जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुर्‍याउने गरी झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

एमालेले यसलाई लोकतन्त्रको परिधिबाहिरको कार्य भन्दै रास्वपाको यो हर्कतले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाएको छ ।

दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष भए पनि रास्वपाले नयाँको नाममा स्थापित राष्ट्रिय शक्तिको आस्थामा चोट पुर्‍याएको एमालेको ठहर छ । एमालेले आफू अनुशासित पार्टी भएको तर आफ्नो संयमतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!