
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । अहिलेसम्म १ करोड ५० लाखभन्दा धेरै मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।
डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथरको मतपत्र छपाइ सकिएको छ ।
यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) र मोरङको मतपत्र छपाइको काम सकिएको आयोगले जनाएको छ ।
उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रूपन्देही र रोल्पाको पनि मतपत्र छपाइ सम्पन्न भएको छ ।
आयोगका अनुसार यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको छ । अहिलेसम्म १३ हजार ३ सय २१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । अहिले दिनमा १ हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापिइसकेका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ ।

संगालोखबर 














