संगालोखबर


काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको विषयमा विभिन्न दलका नेता र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको छ । आयोगले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह, नेकपा एमालेका सचिव महेश बस्नेत र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित ५ जनालाई स्पष्टीकरण सोधेको हो ।

रास्वपा नेता बालेन शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा हत्यारा जस्तो गम्भीर र अमर्यादित शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण मागिएको छ ।

प्रधानमन्त्रीका दाबेदारहरूबीचको डिबेटको सन्दर्भमा ओलीको फेसबुक स्टाटसमा बालेनले गरेको टिप्पणी आचारसंहिता विपरित रहेको आयोगको ठहर छ । बालेनलाई लक्षित गरी छाउरा जस्ता शब्द प्रयोग गरेको आरोपमा एमाले नेता महेश बस्नेतसँग पनि आयोगले स्पष्टिकरण मागेको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई निर्वाचनमा बालबालिका प्रयोग गरेको र उनीहरूलाई पार्टीको टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको छ ।

निकोलस भुसाललाई जेनजी आन्दोलनको जुत्ता भन्दै अनधिकृत प्रचार गरेको र जानुका पाठकलाई अन्य उम्मेदवारप्रति घृणाजन्य अभिव्यक्ति दिएको आरोपमा आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

व्यक्तिगत उम्मेदवारबाहेक आयोगले संस्थागत उल्लंघनमा पनि निगरानी बढाएको छ । आचारसंहिता लागू भइसकेको अवस्थामा अनुमति नलिई अधिवेशन गर्ने स्वास्थ्य स्वयंसेवक संघ र नियम विपरित शिक्षक सरुवा गर्ने निकायलाई समेत स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!