पोखरा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा सोमबार आयोजित गण्डकी–कोशी पर्यटन प्रर्वद्धन समन्वय समिति गठन तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् ।

उनले कोशी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटनमा सहकार्य गर्न आवश्यक रहेको बताए । हवाई मार्गको माध्यमबाट गण्डकी र कोशी प्रदेशलाई जोड्न आफूले पहल गर्ने उनको भनाइ थियो ।

यस्तै उनले सडकको स्तरोन्नति गरेर पर्यटकीय क्षेत्रहरूको संयुक्त प्रवर्द्धनमा जुट्न सकिने बताए । मन्त्री पराजुलीले दुई प्रदेशका धार्मिक क्षेत्रहरू, पदमार्गहरू, साहसिक पर्यटनका गतिविधिहरू र होमस्टेलाई समेत जोडेर साझेदारी गरिनुपर्नेमा जोड दिए ।

यस्तै गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकीलाई नेपालको आधुनिक पर्यटनको जननीका रूपमा प्रस्तुत गर्दै प्रदेशको पर्यटन विकास र योजनाबारे जानकारी दिएका छन् ।

यसै बीच कोशी प्रदेश पर्यटन वर्ष समिति समेतको सहभागितामा अन्तर प्रदेश पर्यटन सहकार्य अन्तरगत गण्डकी र कोशी प्रदेशबीच सहकार्य सम्झौता भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव इन्द्र सापकोटा र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका निमित्त प्रदेश सचिव टीकाराम पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यससँगै कोशी र गण्डकी प्रदेश बीच पर्यटन सहकार्यको बाटो खुलेको छ । जसमा गण्डकी कोशी पर्यटन प्रर्वद्धन समन्वय समिति गठन भएको छ भने सहकार्यको क्षेत्र र दुई वर्षको समयावधि तोकिएको छ । यस्तै मंगलबार मधेस प्रदेशसँग पनि सम्झौता हुने भएको छ ।

कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदी, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कोशी प्रदेश पर्यटन वर्ष समितिका सह–संयोजक भविष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!