
धनकुटा । धनकुटा साहित्यकार तथा कलाकार मुकुन्द प्रयास निर्वाण कला सम्मान २०८२ बाट सम्मानित भएका छन् । राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक कलाकार संघ (क्यान) को ३१ औं स्थापना दिवसको अवसरमा १० हजार नगदसहित प्रयासलाई काठमाडौंमा सम्मान गरिएको हो ।
स्रष्टा तथा कलाकार प्रयासलाई उपत्यका बाहिर बसेर निरन्तर लेखन, चित्रकला, मूर्तिकला तथा कला व्यवसाय गरेको भन्दै नेपाल व्यवसायिक कलाकार संघले सम्मान गरेको हो ।
सोही अवसरमा वरिष्ठ चित्रकार मदन चित्रकारलगायत अन्य १५ जना कलाकार पुरस्कृत भएका छन् । वरिष्ठ चित्रकार मदनलाई क्यानले नगद २५ हजार रुपैयाँ राशीको सुरेन्द्र प्रधान दीर्घ कला-साधक पुरस्कार प्रदान गरेको हो ।
त्यस्तै २० हजार राशीको क्रोधकला शिरोमणि पुरस्कारबाट वरिष्ठ कलाकार हरिप्रसाद वैद्य सम्मानित भएका छन् । १५ हजार रुपैयाँ राशीको मुल्मी ग्राफिक डिजाइन अवार्ड अशोकमान सिंह र १० हजार राशीको अमात्य कला पुरस्कार कलाकार रत्नकाजी शाक्यलाई प्रदान गरिएको छ ।
त्यसैगरी १० हजार राशीकै हेम–गंगा युवा कला प्रतिभा पुरस्कार, हेम–गंगा नारी कला प्रतिभा पुरस्कार, क्यान सिग्देल आर्ट पुरस्कार र निर्वाण कला सम्मान क्रमशः चराचुरुंगीतर्फ सुदीप बस्याल, सम्झना राजभण्डारी, मानकाजी श्रेष्ठलाई प्रदान गरिएको छ ।
पाँच हजार राशीको क्यान आइडियल कला पुरस्कार चित्रकार अजय देशारलाई प्रदान गरिएको छ भने कलालेखनका क्षेत्रमा नारायणदेवी स्मृति पुरस्कार पत्रकार श्याम स्मृतलाई प्रदान गरिएको छ ।
यसैगरी क्यान सिग्देल आर्ट, बालकृष्ण स्मृति कला पुरस्कारबाट कलाकार लिलाधर केसी, राजेश मानन्धर, कार्टुन अवार्डबाट पानसिङ तोमार र ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कारबाट कलाकार चन्द्रमणि मगर पुरस्कृत भए ।
यसैगरी ऋचा मैनाली रिजाल स्मृति पुरस्कारबाट कलाकार अनमारी तामाङ तथा मनबहादुर जितीमाया पुन साइन आर्ट पुरस्कारबाट भुवन गुरुङ पुरस्कृत भएका छन् ।
कार्यक्रममा वरिष्ठ चित्रकार शशि शाह, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, क्यानका अध्यक्ष प्रेम श्रेष्ठ, पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायतले प्रमाण पत्र र नगद प्रदान गरेका थिए ।

संगालोखबर 
















