
विराटनगर । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको हो । १८ सिटका लागि हुने निर्वाचनमा काँग्रेसले ९ सिटमा उम्मेदवार बनाएको छ ।
जसमध्ये कोशी प्रदेशबाट सुनिल थापालाई उम्मेदवार बनाएको छ । पार्टीका पूर्व सहमहामन्त्री र बहालवाला कार्यसम्पादन समिति सदस्य समेत रहेका थापाले राष्ट्रियसभामा उम्मेदवार हुन केहीदिनअघि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत रहेका सुनिल पूर्व प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री पनि हुन् । यस्तै मधेशबाट धनेन्द्र पासवान र रञ्जित कर्णलाई उम्मेदवार बनाएको काँग्रेसले बागमतीबाट गीता देवकोटालाई उम्मेदवार बनाएको छ ।
यस्तै गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।

संगालोखबर 
















