
विराटनगर । निवर्तमान संघीय सांसद तथा नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आफूले अध्ययन गरेको विद्यालयमा ३ करोड ५० लाख भन्दा बढी खर्च गरेर भवन बनाइदिने भएका छन् । आफूले अक्षर चिनेको मोरङको रतुवामाई-९ ठकठकियास्थित जनता माध्यमिक विद्यालयमा डा.शर्माले १० कोठा भएको दुई तले पक्की भवन निर्माण गरिदिने भएका हुन् ।
विद्यालयमा आज आयोजित कार्यक्रममा भवन शिलान्यास गरिएको छ । डा.शर्मा, उनकी धर्मपत्नी इन्दिरा शर्मा बराल, बुवा लोकनाथ तथा आमा होमादेवी न्यौपाने र विद्यालयका संस्थापक स्व.नरेन्द्रबहादुर थापाकी धर्मपत्नी मैया थापाले संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन् ।

सोही अवसरमा डा.शर्माका बुवा र आमाको नाम जोडेर विद्यालयको नाम ‘जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय’ नामकरण पनि गरिएको छ । शिक्षा नियमावली अनुसार २ करोड भन्दा बढी सहयोग गर्ने व्यक्तिको नाममा विद्यालयको नामकरण गर्न सकिने प्रावधान भएकाले सोही अनुसार विद्यालयको नाम परिवर्तन गरिएको हो ।
एक करोडको छात्रवृत्ति स्थापना गरिने

कार्यक्रममा बोल्दै डा.शर्माले विद्यालयमा एक करोड बराबरको छात्रवृत्ति स्थापना गरिदिने घोषणा पनि गरेका छन् । विद्यालयका संस्थापक स्व.नरेन्द्रबहादुर थापाको नाममा ५० लाख र आफ्ना हजुरवुवा–हजुरआमाको नाममा ५० लाखको छात्रवृत्ति प्रदान गर्ने सांसद शर्माले घोषणा गरेका हुन् । उनले आफूले अक्षर चिनेको स्कुललाई सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै स्कुललाई यहाँसम्म ल्याउन भूमिका निर्वाह गर्नेहरुप्रति आभार व्यक्त गरे ।

सो विद्यालय २०२२ सालमा स्थापना भएको हो । शिशुदेखि कक्षा १० सम्म पढाइ हुँदै आएको सो विद्यालयमा अहिले करिब ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा सुविधासम्पन्न भवन निर्माण हुने भएपछि स्थानीयवासी पनि हर्षित भएका छन् ।
उपचारमा पनि सहुलियत दिइने
डा.शर्माद्वारा सञ्चालित विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौंको काठमाडौँ मेडिकल कलेजमा सो विद्यालय सम्बद्ध व्यक्तिहरूलाई सहुलियतमा उपचार गरिने भएको छ । नोबेलमा विद्यार्थी, शिक्षक, सञ्चालक समिति तथा कर्मचारी र उनीहरूको आश्रीत परिवारलाई ५० प्रतिशत र विद्यार्थीका अभिभावकलाई २५ प्रतिशत छुट दिइने भएको छ । त्यस्तै, १० जनालाई निःशुल्क उपचार गरिने भएको छ ।
यता, केएमसीमा सो विद्यालयका विद्यार्थी, शिक्षक, सञ्चालक समिति तथा कर्मचारी र उनीहरूको आश्रीत परिवारलाई ७५ प्रतिशत र विद्यार्थीका अभिभावकलाई ५० प्रतिशत छुट दिने गरी केएमसीका कार्यकारी अध्यक्ष सोइना शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् ।

संगालोखबर 
















