
विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आज पर्यटन उद्योग, अवसर र सम्भावनाबारे छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विचार विमर्श भएको हो ।
छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिएका थिए । उनले कृषि, संस्कृति, पदयात्रा र आतिथ्यसँग जोडिएको पर्यटनबाट जनस्तरसम्म लाभ पुर्याउन सकिने बताए ।
पर्यटन सेवामूलक उद्योग भएकाले यसमा मानव जनशक्तिको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्ड संघीय संरचनामा रहेर २६ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै आएको उल्लेख गर्दै खनालले आन्तरिक पर्यटन, उत्सव/महोत्सव प्रवर्द्धन र ब्रान्डिङमा समेत बोर्ड सक्रिय रहेको बताए ।
‘नेपालको पर्यटन ब्रान्ड हिमाल हो, तर यससँगै कला, संस्कृति र पदयात्राको अनुभव पनि पर्यटकका लागि ठूलो आकर्षण हो’, उनले भने । उनले पर्यटन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै प्रदेशस्तरमै स्पष्ट ब्रान्ड र आकर्षक प्याकेज विकास गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालमा थोरै दूरीमा नै फरक-फरक मौसम र भूगोल अनुभव गर्न सकिने विशेषता रहेको बताए । प्राकृतिक सुन्दरता र धार्मिक महत्वले नेपालमा पर्यटनबाट ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उल्लेख गरे ।
यस्तै उनले प्रचार-प्रसारको अभाव चुनौती बनेको बताए । यसका लागि सामाजिक सञ्जालको प्रभावकारी प्रयोग आवश्यक रहेको उनको धारणा थियो ।
कोशी प्रदेशको पर्यटन सम्भावनाबारे पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भविषकुमार श्रेष्ठले कोशी प्रदेशको आधार नै पर्यटन भएको उल्लेख गरे । प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाबाट अझै धेरै अवसर सिर्जना गर्न सकिने उनको तर्क थियो ।
होटल एसोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठले विराटनगरलाई भारतीय पर्यटकका लागि गेटवेका रूपमा विकास गर्न सकिने भन्दै पदयात्रा, साहसिक पर्यटन र होटल उद्योगमा युवालाई जोड्नुपर्ने धारणा राखे । श्रेष्ठले कोशी प्रदेशमा समेत ठूलाठूला होटल निर्माण हुने क्रम बढेको जानकारी दिए ।
छलफलले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे पनि त्यसका लागि स्पष्ट ब्रान्डिङ, समन्वय, पूर्वाधार र प्रभावकारी प्रचार आवश्यक रहेकोमा विज्ञ तथा प्यानलिस्ट निष्कर्ष थियो ।

संगालोखबर 













