संगालोखबर


विराटनगर । विराट ट्रेड एक्स्पोमा आज सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सञ्चालन भएको छ । सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी, एआई फर आन्टरपेनसीप, डिजिटल मार्केटिङ र ई-कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो ।

साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले प्रविधिको फाइदासँगै बढ्दो जोखिमबारे सचेत गराएका थिए । एआई र सूचना प्रविधिले जीवन सहज बनाएको भएपनि यसको दुरुपयोगले ठूलो क्षति पनि भइरहेको कटवालले उल्लेख गरे ।

Advertisement

‘आज बन्दुक वा चक्कु बोक्नुपर्दैन, मोबाइल र ल्यापटप भए ठगी गर्न पुग्छ’, उनले भने । उनले अनलाइन स्क्यामका वास्तविक घटनाहरू सुनाउँदै हरेक वर्ष झण्डै २ अर्ब रुपैयाँ ठगी भइरहेको तथ्यांक सार्वजनिक गरे ।

‘बैंकले कहिल्यै ओटीपी माग्दैन, तर हामी विश्वास गरेर दिइरहेका छौं’, एसपी कटवालले भने, ‘राम्रो परिवारका, शिक्षित मानिसहरू समेत ठगीमा परिरहेका छन ।’ सोसल मिडियाबाट सुरु हुने फ्रेन्ड रिक्वेस्ट, भावनात्मक कुराकानीले निजी तस्बिरको दुरुपयोग र आर्थिक शोषणसम्मका घटना हुने गरेका सुनाउँदै उनले सचेत रहन आग्रह गरे ।

घटना भए तुरुन्त प्रहरी र अभिभावकलाई जानकारी गराउन आग्रह गर्दै प्रविधिको दुरुपयोगले कानुनी सजाय मात्रै नभएर जीवनमै दुर्घटना निम्त्याउन सक्ने उनको भनाइ थियो ।

सिल्भर गेट सफ्टवेयरका सिईओ करुण थापाले एआई फर आन्टरपेनसीप विषयमा प्रस्तुति दिँदै व्यवसायमा एआईको प्रयोगबारे जानकारी गराए । ‘एआईलाई बुझ्ने गरी प्रश्न गरियो भने यसले उत्कृष्ट उत्तर दिन्छ’, उनले भने, ‘२०२२ मा च्याटजिपीटी आएपछि यसको प्रयोग तीव्र रूपमा बढेको छ ।’

उनका अनुसार एआईले भर्चुअल असिस्टेन्ट, म्युजिक र भिडियो निर्माण, लोगो डिजाइन, बिजनेस प्लान र बजेटिङ जस्ता काममा ठूलो सहयोग गरिरहेको छ । गुगलजस्ता प्लेटफर्मसँग विशाल डेटा भएकाले जेमिनाईजस्ता टुल अझ शक्तिशाली बनेका उनको भनाइ थियो ।

पूर्वाञ्चल विश्वविद्यालयका ईश्वर भण्डारीले डिजिटल मार्केटिङ र ई-कमर्स विषयमा प्रस्तुति दिँदै सामाजिक सञ्जाल नै आजको प्लेटफर्म र पसल बनेको बताए । उनले डिजिटल व्यापार कुनै उमेर वा वर्गमा सीमित नरहेको उल्लेख गर्दै सबैले यसको फाइदा लिन सक्ने बताए ।

कार्यक्रमले प्रविधिको सही प्रयोग, सावधानी र अवसरबारे सहभागीलाई महत्वपूर्ण सन्देश दिएको कार्यक्रम संयोजक अनिल शारडाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!